विष्णुप्रसाद पोखरेल
दमक । झापाका एक बरिष्ठ कृषि विकास अधिकृत संघीय सरकारका तीनवटा कार्यालयका प्रमु्खको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । त्यो पनि फरकफरक नगरपालिका तथा गाँउपालिकामा ति कार्यालयहरु रहेकाछन् ।
बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापा संघीय सरकारको तीनवटा कार्यालयको प्रमुख बन्नु भएको हो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, धान सुपरजोन कार्यान्वय इकाइ बनियानीका प्रमुख रहनु भएका थापा कृषि विकास फार्म चन्द्रडाँगी शिसतासी, कृषि थोकबजार बिर्तामोडको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
केहि अगाडिसम्म अर्को एउटा कार्यालयको पनि प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले सुपारीजोनको पनि थप जिम्मेवारी सम्हालेकोमा अहिले त्यहाँ भने कार्यालय प्रमुख आएपछि तीनवटा कार्यालय हेर्नु परेको थापाले बताउनु भयो । समय निकाल्न धेरै मुश्किल भइरहेको छ, उहाँले भन्नुभयो । कार्यालय समयभन्दा बाहिरको समय पनि कार्यालयमा जानु पर्ने र अवस्था बुझ्नु पर्ने भएको उहाँले बताउनु भयो ।
तीनवटै कार्यालय संघीय सरकारको भएकाले अन्य कर्मचारी नपठाएका कारण कृषि फार्म र थोक बजारको जिम्मेवारी सम्हाल्नु परेको उहाँको भनाइ छ । सुपरजोन बाहेक दुइवटै कार्यालय अस्तब्यस्त रहेकाछन् । मुख्य आफ्नो कार्यालयलाइ समयदिनै पर्यो, अन्य कार्यालयहरु अस्तब्यस्त नै रहेकाछन्, थापाको भनाइ छ । धान सुपरजोनको कार्यक्षेत्र पनि बढाएर जिल्लाभर बनाएकाले अझ ब्यस्त हुनु पर्ने अवस्था रहेको पनि थापा बताउनु हुन्छ ।
दुइवटा कार्यालयमा बेलामौका जाने गरेको र आफ्नो मुख्य कार्यालयमा नै बसेर धेरैजसो कार्यसम्पादन गरिरहेको थापाले जनाउनु भयो । कृषि अन्र्तगतका तीनवटै कार्यालय संघीय सरकार मातहत रहेको र बरिष्ठ कृषि विकास अधिकत जिल्लामा थापामात्र रहेकाले सबै कार्यालयको जिम्मेवारी उहाँले नै पाएको बताइन्छ । अब नयाँ कर्मचारीहरु आएर काम गर्नुहुन्छ होला तर अहिलेसम्म कोहि पनि कर्मचारी नपठाउदा समस्या भएको हो, थापाले भन्नुभयो ।










