हातैले निचोर्दा वासनादार रस झर्ने ईलामेली बारीका ड्याङमा फल्ने अदुवा, ताप्लेजुङ, पाँचथरका ओसिला कान्लाहरुमा झुत्ति लाग्ने हाम्रो मगमगाउँदो अलैँची,

तिमीले अनेकौं बहानामा कलकत्तामा रोक्यौ,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वर्षौँदेखि हाम्रा पहाडहरूमा साना किसानहरूले अनेक कष्टले स्याहारेका चियाका मुनाहरुलाई 'Darjeeling Tea' को ट्याग लगाएर युरोप र अमेरिकामा पाउण्ड र डलरमा बेच्यौ !

निर्धो भएर हामी चुपै बस्यौँ ।

आज तिमीले ट्रकका ट्रक पठाएका चम्किला, पोटिला फलफूल र तरकारी हाम्रा गर्भवती आमा दिदिबहिनी हरुका लागि, नजन्मिएका भ्रुणहरुका लागि, नवजात शिशुहरुका लागि, हुर्किदै गरेका किशोर किशोरीका लागि, हानिकारक छ रोकिदेउ भन्दा

तिमीले सिंहदरबार थर्कायौ, तिमीले पाखुरा देखायौ, र मनलाग्दी गर्यौ ।

हामी जान्दछौँ, तिमी शक्तिशाली छौ, बलशाली छौ,‌ अनि त्यतिकै हेपाहा पनि छौ ।

तिमी जे चाहन्छौ त्यो गर्छौ, अनि हामी त्यो सहन्छौँ, जे तिमी गर्छौ सदियौं अघि थुसिडाईडस्ले भनेजस्तै गरी ।

तर भारत पख !

तिमीसँग बदला लिन मन छ । हो, बदला लिन मन छ तिमी सँग । पख, गाउँ गाउँमा आमाको काख छोडेर, बारी र कान्लाहरु बाँझै छोडेर, अरबका खाडीमा भेडा चराउँदै गरेका मेरा काका-बुवाहरु घर फर्कन देउ,

पख, कतार र मलेसियामा १४ घण्टा उभिएर पहरा दिईरहेका दाजुभाईहरु फर्कन देउ । कोरियाको कठ्याङ्ग्रिँदो जाडोमा कृषि फार्ममा काम गरिरहेका साथीभाई फर्कन देउ । अमेरिका, बेलायत युरोप र अष्ट्रेलियामा घण्टौँ काम गरेर पनि पढ्दै गरेका मेरा दौतरीहरु फर्कन देउ।

ईजरायलको मरुभूमिमा सुन्तला, स्याउ, काँक्रो, गाँजर र टमाटर फलाउन सिक्दै गरेका मेरा सहपाठीहरु फर्कन देउ । अनि फर्कन देउ त्यहाँका बुढा-बुढिहरु स्याहारेर यहाँ आफ्ना नानी-बाबुहरुलाई पढाईरहेका हाम्रा काकी-आमा, माईजु र भाउजुहरुलाई

अनि, हामी पहाडका बारीहरु जोत्नेछौँ जिल्याउनेछौँ गोठैका गाई-भैँसीको गोबरमल हालेर फलाउनेछौँ अर्गानिक, काँडादार इस्कुषहरु, राता-राता गोलभेंडाहरु हरिया सागपातहरु अनि तराईका मलिला फाँटहरुमा फलाउँनेछौँ असङ्ख्य टनका टन सुनका बालाहरु

कुना कन्दराहरुमा बाटाहरु खनेर हुम्ला जुम्लाका रसिला स्याउहरु ढुवानी गर्नेछौ ।

अनि तिमीले देखाएको सपनाको रेलमा हालेर तिम्रा नानीहरुका लागि,किशोर किशोरीका लागि, युवाहरुका लागि, वयस्कहरुका लागि, अनि प्रौढहरुका लागि

पठाउँने छौँ हिमालको अमृतसरि पानीले र नेपालीका मोतीसरी पसिनाले सोँचेको स्वास्थ्यकर, स्वादिला फलफूल र तरकारीहरु !

(नारायण कडरियाको फेसबुकबाट झिकिएको कविता)