नवराज कट्टेल विराटनगर, असार २८ गते । पछिल्ला पाँचदिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा नौजनाको मृत्यु भएको छ ।  बाढीमा परी चारजना वेपत्ता भएका छन् भने दुईजना घाईते भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना समन्वय अधिकारी, वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहालले नौजनाको मृत्यु, चारजना वेपत्ता र दुईजना घाईते भएको जानकारी दिनु भएको हो । मृत्यु हुनेमा भोजपुर रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका–९ का १४ वर्षीय जनक बिश्वकर्मा, ओखलढुंगा चिसुङखुगडी गाउँपालिका–४ निवासी ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली गाउँपालिका–१ निवासी ५० वर्षीया अञ्चला लावती हुनुहन्छ ।

यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका–२ पहिरोमा पुरिएर २८ वर्षिया रेखा राई, ४ वर्षीय छोरा रमन र ६ महिनाका छोरा रोहन राईको मृत्यु भएको प्रवक्ता दाहालले जानकारी दिनुभयो । वेपत्ता रहेका तीनैजनाको शव भेटिएको प्रवक्ता दाहालले बताउनुभयो ।

झापाको दमक–१० मा ६ वर्षीया उलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ भने उदयपुर घर भई सुनसरीको इटहरी–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलाले बगाएर मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर–९ का ४५ वर्षीय सफल हस्दा, सुनसरी बराहा नगरपालिका–१ का १० वर्षीय अर्पण राई र मोरङ कानेपोखरी गाउँपालिका–२ मा एकजनालाई खोलाले बगाएर वेपत्ता बनाएको प्रहरीले जानकारी दिइएको छ । मोरङको कानेपोखरीमा वेपत्ता भएका व्यक्तिको नामथर खुल्न सकेको छैन ।  सुनसरी र खोटाङमा एक–एक जना घाइते भएको प्रहरीले जानकारी दिइएको छ ।

दुहवीमा पुल र बेलबारीमा टावर जोखिम

बाढीका कारण कोशी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबी नगरपालिकाको पुल जोखिममा परेको छ । यसैगरी दुहबी ग्रिडबाट मेचीका लागि बिद्युत प्रसारण गरिने १३२ केभिए लाइनको टावर लोहन्द्रा खोलाको बाढीको जोखिममा परेको छ ।  दुहबी पुल नजिकैको भाग बुढी खोलाले कटान गरेको छ भने लोहन्द्रा खोलाले जमिन कटान गर्दा बिद्युत प्रसारण लाइनको टावर लड्ने अवस्थामा पुगेको छ ।

अत्याधिक कटान गरेपछि छ लेन परियोजनाले दुहबी पुल आसपासको क्षेत्रमा तारजालि बिछ्याउने काम सुरु गरेको छ । माटो कटान रोक्नका लागि पुलको मोरङसँग जोडिएको भू–भागमा त्रिपालले छोपिएको छ । दुहबी पुलबाट यातायातका साधन आवात–जावतमा सावधानी अपनाउन भन्दै प्रहरीले रातो झण्डा गाडेर व्यवस्थापन मिलाईरहेको छ ।  छ लेन सडक परियोजनाका इन्जिनियरि रमेशकुमार गोइतले अझै वर्षा र खोलामा बाढी आए पुल भत्कने सक्ने संभावना रहेको बताउनुभयो ।

गोरखापत्रअनलाइन

यसैगरी लोहन्द्रा खोलाले बेलबारी–५ मा बिद्युतको टावर आसपासको जमिन कटान गरेपछि कटान रोक्न नेपाली सेना र नेपाल प्रहरी सक्रिय भएको छ । १३२ केभिए प्रसारण लाइन अन्तर्गत मेचीतर्फका जिल्लामा विद्युत सप्लाई गर्ने ३३ र ३४ नम्बरका टावर गाडेको जमिनमा लोहन्द्रा खोलाको बाढीले कटान गरेको हो । टावर ढलेमा मेची अन्तर्गतका जिल्लाहरुमा बिद्युत आपूर्ति बन्द हुने दुहबी ग्रिडका इन्जिनियर नगेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारको चासो

वर्षापछिको विपत्बाट जोगिदैं एक–अर्कामा सहयोगी बन्न प्रदेश १ सरकारले अनुरोध गरेको छ । बाढीका कारण जोखिममा परेका नागरिकसम्म पुगेर प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले विपत्को सामना सबै मिलेर मात्रै संभव हुने बताउनु भएको हो ।  मन्त्री कार्कीसहितको टोलिले जोखिममा रहेको दुहबीको पुल तथा बिद्युतको टावरको समेत निरीक्षण गरेर रोकथामका लागि तत्काल पहल गर्नसम्बन्धित निकायसँग अनुरोध गर्नु भएको छ ।

प्रदेश सरकारले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका उद्धार तथा राहत सामाग्री तथा जनशक्तिलाई तत्काल परिचालन हुनसक्ने अवस्थामा राख्ने निर्णय समेत गरेको छ । प्रदेश सरकारले विपत्पछि उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई तत्काल परिचालन हुने अवस्थामा रहनका लागि अनुरोध समेत गरेको छ ।गोरखापत्रअनलाइन