विष्णुप्रसाद पोखरेल
दमक । दमकमा रहेको जिल्ला स्तरको स्वीकृत पाएको सरकारी दमक अस्पतालमा युएसजि मेशिन भिडियो एक्स रे बिग्रिएको डेढ महिना बित्दा पनि अर्को बैकल्पि ब्यवस्था हुन नसक्दा विरामीहरु मारमा परेको पाईएको छ । बनाउदा बन्ने अवस्था नरहेको र नयाँ नै आवश्यक परेकाले समस्या भएको बताइन्छ ।
जिल्ला अस्पतालको रुपमा स्वीकृत पाएपनि हाल नगरपालिका मातहतमा सञ्चालनमा हुँदै आएको अस्पताल दमक नगरपालिका सहित आसपासका क्षेत्रका ३ लाख जनसंख्यालाइ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार युएनएचसिआरले उपलब्ध गराएको भिडियो एक्स रे मेशिन बिग्रिएपछि समस्या भएको हो ।
माइवारीको क्षेत्र दमक नगरपालिका सहित गौरादह र शिवसताक्षी नगरपालिका, कमल गाँउपालिका, गौरीगन्ज गाँउपालिका, इलामको चुलाचुली गाँउपालिका लगायतका स्थानीय तहको स्वास्थ्य बिमाको पहिलो सेवा विन्दु नै यो अस्पताल भएकाले दैनिक ३ सयभन्दा बढि विरामी यहाँ आउने गरेको पनि अर्यालले जनाउनु भयो ।
केहि महिना अघिदेखि बर्थिङ सेन्टर समेत शुरु भएको थियो । अस्पतालकी सञ्चालक समिति अध्यक्ष एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार भिडियो एक्स रे सेवा नहुँदा समस्या हुने भएकाले तत्काल यसको ब्यवस्था गरिदिनका लागि स्वास्थ्य सेवा बिभागसंग माग गरिदैछ । भिडियो एक्स रे मेशिनलाइ कम्तिमा पनि १५ देखि २० लाख रुपियासम्म र यो भन्दा महगो पनि हुनसक्ने बताइन्छ ।
स्वास्थ्य शाखाका कर्मचारीलाइ नै पत्र लिएर बिभागमा पठाउन लागिएको छ र यो आज भोली नै गर्छौ, उहाँले भन्नुभयो । अधिकारीका अनुसार जिल्ला अस्पतालको रुपमा स्वीकृत भएपनि स्वास्थ्य केन्द्र जस्तो रहेकाले थप ३ जना विशेषज्ञहरुको समेत माग गरिएको जनाउनु भएको छ । विरामीको चापलाइ आधार बनाएर थप विशेषज्ञहरु समेत माग गरेर पत्रचार गरेका छौ र विश्वास छ हाम्रो माग पुरा हुनेछ, अधिकारीले भन्नुभयो ।
२ बर्षदेखि मेडिकल सुपरिटेण्डेन्ट विहिन अस्पताल
दमक अस्पतालमा भौतिक संरचना निर्माणहरु र स्तरउन्नतीको प्रयासहरु भइरहेतापनि प्रमुख प्रशासक अर्थात मेडिकल सुपरिटेण्डेन्ट नभएको पाईएको छ । दुइबर्ष अघि डा. बुद्धिबहादुर थापा यहाँबाट सरुवा भएर गएपछि नयाँ मेडिकल सुपरिटेण्डेन्ट नआएको बताइन्छ । २ बर्षअघि देखि अस्पताल निमित्तको भरमा सञ्चालनमा रहेको छ ।
अस्पतालका एक सञ्चालक समितिका सदस्यका अनुसार जिल्ला अस्पातल भनिएपनि अहिले यहाँ सामान्य प्रकारका चिरफार बाहेक बिरामीहरुले अप्रेसन लगायतका सेवाहरु पाउन सकेका छैनन् । यहाँ आएका विरामीहरुलाइ नजिकका नीजि अस्पताल पठाउनु पर्ने अवस्था रहेको समेत उहाँको भनाइ रहेको छ ।










