विष्णुप्रसाद पोखरेल दमक । किसानहरु प्रविधिप्रति आकर्षित भएपनि अझै पनि यसमा विश्वास गरेर आत्मसाथ गर्ने अवस्थामा नपुगेको पाईएको छ । झापामा ड्रम सिडरबाट धान रोपाइ गर्ने कार्य गतबर्षभन्दा यो बर्ष बढेको भएपनि अझै पनि धेरै किसानहरु परम्परागत खेती प्रणालीप्रति नै आश्रित भएको पाईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानी अधिक परेकाले सिड ड्रिलबाट भने रोपाइ गर्न नसकिएको जनाईको छ । झापा कचनकवलका बुद्धि नेपालले मेसिनरी प्रयोग छिटो र छरितो भएपनि पुर्ण रुपमा यसमा नै विश्वस्थ नभइएको बताउनु भयो । पानी देखि लिएर सबै कुरा ठ्याक्क मिलाउन नसकिने रहेछ र पुरानै तरिकाले नै ठिक होला जस्तो लाग्छ, उहाँले भन्नुभयो ।

ड्रम सिडर र सिड ड्रिलबाट धान रोप्दा लागतमूल्य आधाभन्दा बढि घट्ने भएपनि किसानहरु यसमा त्यति धेरै आकर्षित छैनन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, धान सुपरजोन कार्यन्वयन इकाइ सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराइले बताउनु भयो । आफुहरु किसानको प्रतिनिधि भएकाले आफै आफ्नो खेतमा रोपेर देखाएको र अहिले यसमा केहि किसान आकर्षित बनेको उहाँको भनाइ छ ।

धान सुपरजोनका बरिष्ट कृषि विकास अधिकृत धनबहादुर थापाका अनुसार गतबर्ष करिब १० बिगाह जमिनमा ड्रम सिडरबाट धान रोपेकोमा यो पटक तेब्बर बढेर ३० बिगाह क्षेत्रफलमा किसानले रोपेकाछन् । यसमा धानको बिउ नराखि सिधै हिलोमा छरुवा विधिबाट धान रोपिने गरेको छ । सिड ड्रिल सुख्खा खेतमा तथा ड्रम सिडरबाट खेत हिल्याएर धान रोपाइँ गर्ने मेसिन हो, थापाले भन्नुभयो ।

यो विधिबाट धान रोपाइँ गर्दा ब्याड राख्नुपर्ने झन्झट नहुने, बीउ काट्नु नपर्ने, रोपार नलाग्ने भएकाले लागत मूल्य घटने छ । यो कम खर्चिलो र अत्यन्त सरल तरिकाले खेती गर्ने माध्यम हो, थापाले भन्नुभयो । एउटा ड्रम सिडर र सिड ड्रिल १० देखि १२ हजारमात्र पर्ने भएकाले यो सबैको पहुँच पुग्ने पनि बताइन्छ ।

करिब २४ घण्टा भिजाएर धानको बिउलाई टुसाइन्छ । त्यसपछि नुनपानीमा हालेर यसको उपचार गरिन्छ । भुस माथि तैरिएपछि रोप्न योग्य विउमात्र बाँकी रहने गर्छ । यसरी टुसाएको बिउलाई ड्रम सिडरमा हाल्ने र हिलो बनाएको बनाएको खेतमा ड्रम सिडरका माध्यमबाट छर्ने गरिन्छ । एक जनाले ड्रम सिडरलाई बिस्तारै ताने पुग्ने जनाईएको छ । यसरी तान्दा ड्रम घुम्ने र ड्रमको प्वालबाट लाइनै एक÷एक बटा टुसाएको धानको बिउ हिलो खेतमा झर्दछ ।