विष्णुप्रसाद पोखरेल

दमक । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा पहिलो पटक एकीकृत सेवाग्राही वडापत्र तयार पारेर लागु गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले साधरण कामहरुमा समेत सेवाग्रहीले झन्झट बहोर्नु परेकाले त्यसको अन्त्य र विचौलिया हाबि भएर पैसा असुल गर्ने कार्यलाइ निरुत्साहित गर्नलाइ एक बर्ष लगाएर यस प्रकारको वडापत्र तयार पारिएको जनाउनु भयो । सबैसग छलफल र सुझाव लिएर नै यो काम गरिएकाले यसलाइ लागु गर्नु सबैको दायित्व भएको पनि उहाँको भनाइ थियो ।

स्थानीय तह सहित २१ वटा कार्यालयमा सेवाग्राही जाँदा त्यहाँबाट पाइने सेवाको बारेमा जानकारी सहित सम्बन्धित कामका लागि के के आवश्यक पर्छ भन्ने जानकारी उक्त वडापत्रमा रहेको छ । सम्बन्धित कार्यालयबाट प्रमाणित गरेर राखिएको निवेदनका ढाँचाहरु समेत त्यहि भएकाले सेवाग्राहीले बाहिर बिचौलिया मार्फत निवेदन लेखाउनु पर्ने अवस्थाको अत्य हुने अपेक्षा रहेको दाहालले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, नगरपालिका, गाँउपालिका, वडा कार्यालय, वन डिभिजन, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका कार्यालयहरुमा आवश्यक पर्ने सम्बन्धित कामको निवेदनको ढाँचा नै वडापत्रमा समावेश भएको र त्यो फोटोकपी गरेर भरेर आएमा सेवाग्राहीले सेवा पाउने दाहालले जनाउनु भयो ।

१३ महिना लगाएर ३ सय पृष्ठ लामो एकीकृत वडापत्र तयार पारिएको र यो सेवाग्राही तथा सम्बन्धित कार्यालयका लागि एउटा सेवा चुस्त पाउने र दिने प्रमुख आधार बनेको दाहालको दाबी रहेको छ । तत्काल नगरपालिका, गाँउपालिका सहित जिल्लाभर रहेका १ सय ३१ वटा वडामा यसलाइ पठाईने बताईएको छ ।

शुरुवातमा सर्वसाधरण वडा कार्यालय जाने भएकाले यसलाइ वडा कार्यालयमा राखिने त्यहाँबाट सिफारीस लिनेक्रम देखि नै जुन कार्यालयमा जाने हो त्यो कार्यालयमा सम्बन्धित कामको लागि आवश्यक कागजपत्र के के चाहिने त्यो हेर्न र निवेदनको ढाँचा समेत फोटोकपी गरेर लैजान सक्ने ब्यवस्था मिलाइने दाहाल बताउनु हुन्छ ।

जिल्ला प्रशासन कार्यालय सहित, नगरपालिका, गाँउपालिका र सम्बन्धित कार्यालयहरुले आफ्नो वेभसाइडमा पनि यसलाइ राख्ने कार्यालय प्रमुखहरुको बैठकमा छलफल भएर निर्णय भएको पनि दाहालले बताउनु भयो । हामी मोवाइल एप्स बनाएर पनि यसलाइ हाल्ने तयारीमा रहेका छौ, दाहालले भन्नुभयो ।

सार्वजनिक सेवा वडापत्र सेवाप्रदायक निकायले आफुले प्रदान गर्ने सेवाको प्रकृति, मापदण्ड,प्रक्रिया र गुनासो सुनुवाई संयन्त्रका बारेमा सेवाग्राहीलाई खुलस्त र स्पष्ट सुचना तथा जानकारी दिन सार्वजनिक रुपमा राखिएको एक लिखत मानिन्छ । यसलाइ थप ब्यवस्थित गर्नका लागि जिल्ला प्रशासन कार्यालयले उल्लेख भएका काम गर्दा आवश्यक निवेदन तथा त्यसको ढाँचा पनि समावेश गरेको पाइन्छ ।