विष्णुप्रसाद पोखरेल दमक । झापामा शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारहरुले फरकफरक किसिमका कार्यक्रम ल्याउने क्रममा झापा गाँउपालिकाले अरुभन्दा फरक रुपमा केहि कार्यक्रमहरुलाइ अघि सारेको पाईएको छ । यस गाँउपालिकाले सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने सबै छात्राहरुलाइ साइकल बितरण गर्नेदेखि लिएर विद्याबारिधि गर्नेलाइ एकलाख रुपिया उपलब्ध गराउने सम्मका कार्यक्रमहरु सार्वजनिक गरेको पाईएको हो ।
माध्यमिक तह नपढि धेरै छात्राहरु बिद्यालय छाड्ने क्रमलाइ रोक्नका लागि सामुदायिक बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने छात्राहरुलाइ साइकल वितरण कार्यक्रम ल्याईएको गाँउपालिका अध्यक्ष जयनारायण शाहले बताउनु भयो । कक्षा ९ का सबै छात्राहरुलाइ साइकल उपलब्ध गराउने र कक्षा ११ का सवै विधार्थीहरुलाइ पढाउने हामीले जिम्मा लिने निर्णय गरेका छौ, शाहले भन्नुभयो ।
यो गाँउपालिका भित्र अध्ययन गर्ने बिद्यार्थी तथा सामुदायिक विद्यालयहरुमा मात्र लागु हुने पनि बताईएको छ । गाँउपालिकाले लिएको तथ्याङ्क अनुसार यो बर्ष २ सय ३५ वटा साइकल वितरण हुनेछन् । यो कार्यक्रम गाँउपालिकाले पहिलो पटक ल्याएको र प्रभावकारी बन्ने अपेक्षा लिईएको शाहले जनाउनु भयो ।
यस गाँउपालिकाका स्थायी बासिन्दा कसैले बिद्याबारिधि गर्दा शोधपत्र तयार पार्न सहयोग पुर्याउने उदेश्यले बर्षमा २ जनासम्मलाइ एकलाख रुपिया उपलब्ध गराउने निर्णय भएको पनि गाँउपालिका अध्यक्ष शाहले जनाउनु भयो । उहाँहरुले लिएको शिक्षा गाँउपालिकाको शान भएकाले उहाँहरुको सम्मानका लागि यो निर्णय गरिएको हो, शाहको भनाइ छ ।
बिभिन्न जटिल प्रकारका रोगले पीडित भएका गाँउबासीको उपचारका लागि सहयोग पुर्याउन ‘जनता उपचार कोष’ बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिक्कल सेल एनेमियाको उपचारका लागि गाँउपालिकाले सहयोग गर्ने गाँउपालिका उपाध्यक्ष कुन्तादेवी बुढाथोकीले बताउनु भयो । यसको मापदण्ड तथा कार्यविधि बनाएर त्यसै अनुसार सहयोग गरिने समेत जनाईएको छ ।
एकल पुरुषलाइ भत्ता, बृद्धहरुलाइ थप भत्ता गाँउपालिकाले ६० देखि ७० बर्ष उमेरका एकल पुरुषहरुलाइ मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । गतबर्षसम्म सिधै दिने गरिएकोमा यो बर्षदेखि बैक खातामार्फत उहाँहरुलाइ यो रकम उपलब्ध गराउने निर्णय भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताउनु भयो ।
यसैगरी ८४ बर्षभन्दा माथिका जेष्ठ नागरिकलाइ गाँउपालिकाको तर्फबाट सम्मान स्वरुप थप मासिक ५ सयका दरले एकमुष्ठ ६ हजार रुपिया घरमा नै गएर दिइने निर्णय समेत गाँउपालिकाले गरेको छ । जेष्ठ नागरिकहरुको सम्मानका लागि गाँउपालिकाले यो निर्णय गरेको हो र गतबर्ष देखि नै यो कार्यन्वयनमा छ, कार्कीले भन्नुभयो ।










