विष्णुप्रसाद पोखरेल दमक । नाम ढलक रोकाय क्षेत्री । उमेर १८ बर्ष । गाँउघरमा बोलाउने नाम टाइगर । घर मुगु जिल्लाको हिमा गाँउपालिका वडा नं. ३ सुमल गाँउ । यसैबर्षमात्र एसईई परिक्षा दिनु भएको हो र अब कक्षा ११ को तयारी गर्दै हुनुहुन्छ । थप पढाइ खर्च जुटाउनका लागि मुगु देखि झापासम्म यार्सागुम्बा बेच्दै आउनु भएको छ ।

दमक ६ स्थित एक कार्यालयमा यार्सागुम्बाको बारेमा जानकारी दिदै किन्नका लागि आग्रह गर्दै गरेको अवस्थामा भेटिनु भएका क्षेत्री दुइसाता अघि दमक आइपुग्नु भएको हो । मुगुबाट सिधै झापा आएका हौ, क्षेत्रीले भन्नुभयो । आफुभन्दा ठुला दाइहरुसंग यहाँ आएको क्षेत्रीले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यार्सागुम्बा, केसर, शिलाजीत, जेठि मधु लगायतका जडिबुटिहरु लिएर आएको र दिनभर ग्राहक खोज्दै हिड्ने गरेको उहाँले बताउनु भयो । रातको समयमा सामुहिक रुपमा सस्तो होटलमा बस्ने गर्नु भएको छ । हामी ८ जना आएका छौ र दिउसोभर छरिएर ब्यापार गर्छौ, उहाँले भन्नुभयो । रातको समयमा भने एकै ठाँउमा बस्ने गरेको उहाँको भनाइ छ ।

पढाइ खर्च जुटाउन आफु यसरी जडिबुटि बेच्दै आएको क्षेत्रीले जनाउनु भयो । अब सुर्खेत वा काठमण्डौ गएर पढ्ने बिचार छ, क्षेत्रीको भनाइ छ । स्थानीय श्री भैरव माध्यमिक विद्यालयबाट आफुले एसईई परिक्षा दिएको उहाँ बताउनु हुन्छ । परिक्षामा राम्रो अंक नआएको र डि प्लसमात्र आएको उहाँको भनाइ छ ।

प्रायजसो यार्सागुम्बा जाडोको मौसममा टिप्नका लागि बुबाआमा जाने गरेको उहाँले सुनाउनु भयो । हामी साना मान्छेहरुलाइ जान दिदैनन् र जाने गरेका छैनौ, उहाँले भन्नुभयो । अब बर्षमा एकपटक आफु यतातिर आउने पनि क्षेत्रीले बताउनु भयो । अहिले यार्सागुम्बा खाएर हेर्नुहोस र मलाइ फोन गर्नुहोस् फेरी चाहियो भने म ल्याइदिन्छु, ग्राहकलाइ यसरी फकाउदै हुुनुहुन्थ्यो ।

आफुहरुले दैनिक २ हजारदेखि ३ हजार रुपियासम्मको यार्सागुम्बा र अन्य जडिबुडि बेच्ने गरेको उहाँले जनाउनु भयो । आउनमात्र खाइखर्च समेत गरेर ७ हजारभन्दा बढि खर्च भएको र जान समेत त्यति नै लाग्ने भएकाले कमाइ ठिकै मात्र हुने आस लागेको क्षेत्री बताउनु हुन्छ । यो पटक कम्तिमा पनि एकबर्षभर पढन खर्च ज्ुटाउन सक्छु भन्ने लागेको छ, क्षेत्रीले भन्नुभयो ।