विष्णुप्रसाद पोखरेल
दमक/झापाको गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुर बस्ने काशी शर्माको घरमा माउ सहित २७ वटा गोमन सर्प भेटिएको बिषय अनलाइन र सामाजिक सञ्जालमा निक्कै नै चर्चाको बिषय भयो ।
यसले एउटा ठुलो त्रास र आंतक नै भयो । तराइमा बर्षादको समयमा बिषालु सर्पको बिगबिगि नै हुने गरेको छ । दुलो अर्थात बासस्थान पानीले भरिएपछि न्यानो खोज्दै सर्पहरु घर तथा सुरक्षित स्थलमा आउने बताइन्छ ।
सर्पदंश उपचार सेवा दिने स्थानहरुमा पछिल्लो समयमा सर्प डसाइका बिरामीहरुको चाप बढेको छ । सर्प डसाइका बिरामी र बिशेष गरेर कतिपय बालबालिकाहरुको ज्यान गएका समचारहरु समेत आएकाछन् ।
सोहि घरमा अर्को एउटा करेत सर्प पनि भेटिएको बताईएको छ । सोहि दिन विहान करेत सर्प मारिएको थियो र बेलुका २७ वटा गोवन सर्प । यसले अहिले हरेक स्थानीयहरु सचेत भएको बताइन्छ ।
करिब २० प्रतिशत सर्प मात्र विषालु हुन्छन्। ८० प्रतिशत सर्प विषालु हुँदैनन्, तिनले टोकेमा आत्तिनुपर्दैन। खासगरी, विषालु र विष नभएका सर्प चिन्न सक्नु पनि ठूलो उपलब्धि हुन सक्छ। अर्को कुरा ५० प्रतिशत विषालु सर्पले टोक्नेबेला विष नफालेको अवस्था पनि हुन सक्छ।
हाम्रो ठाउँमा पाइने विषालु सर्पमा गोमन र करेतले नशामा प्रभाव पारी मांशपेसी कमजोर बनाउने विष फाल्छन् भने 'भाइपर'ले चाहिँ रगत पातलो बनाउने र रक्तास्राब गराउने विष फाल्ने गर्छ।
सर्पको सिजन भनेको चैतदेखि मंसिरसम्म हो। तर, सबैभन्दा बढी सर्पले टोक्ने महिना साउन र भदौँ हो। यो अवधिमा थुप्रै सर्पहरु समेत मारिने गरेकाछन् ।










