विष्णुप्रसाद पोखरेल दमक । झापाका स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा आमा तथा शिशु सुरक्षा कार्यक्रमलाइ प्राथमिकतामा राखेको पाईएको छ । गर्भवती महिलाहरुलाइ लक्षित गरेर संघीय सरकारले दिएको सुविधालाइ यथावत सहित थप सुविधाहरु समेत स्थानीय सरकारमार्फत अघि सारिएको पाईएको हो ।

शत्प्रतिशत गर्भवती महिलाहरुलाइ स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनका लागि अभिप्रेरीत गर्नका लागि आकर्षक प्याकेज सहितका कार्यक्रमहरु ल्याइएको छ । दमक नगरपालिकाले २४ सै घण्टा एम्बुलेन्स सेवा दिने भएको छ । सरकारले उपलब्ध गराउने एम्बुलेन्स खर्च नकाटिने र यो नगरपालिकाले बेहोर गर्ने दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा एम्बुलेन्सले ल्याउने र यहाँ सम्भव नभए जहाँ पुर्याउन आवश्यक छ त्यहाँ पुर्याउन पनि एम्बुलेन्सले सेवा प्रदान गर्नेछ, अर्यालले भन्नुभयो । गर्भवती महिलाबाट जन्मेका शिशुको पोषण लगायतका आवश्यक पर्ने अन्य बिषयमा परामर्श तथा सहयोग गर्ने कार्यक्रम पनि राखिएको उहाँले जनाउनु भयो ।

जिल्लाकै झापा गाँउपालिकाले गाँउपालिकाले स्वास्थ्य संस्थामा सञ्चालन गरेको बर्थिङ सेन्टरमा आएका गर्भवती महिलालाइ अन्यत्र अस्पताल तथा स्वास्थ्य संस्था लैजानु पर्ने अवस्थामा एम्बुलेन्स खर्च बापत २ हजार उपलब्ध गराउने भएको छ । सरकारले १ हजार दिदै आएकोमा त्यो बाहेक २ हजार उपलब्ध गराउने गाँउपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेशराज कार्कीले बताउनु भयो ।

आर्थिक अभावका कारण नै धेरै गर्भवती महिलाहरु अहिले पनि जोखिम मोलेर घरमा नै बच्चा जन्माउने र अस्पताल नजाने भएकाले प्रोत्साहन स्वरुप गाँउपालिकाले २ हजार उपलब्ध गराउने भएका हौ, उहाँले भन्नुभयो । ‘उपाध्यक्ष गर्भवती महिला, सुत्केरी सेवा तथा पोषण कार्यक्रम’ पनि गाँउपालिकाले ल्याएको छ ।

झापाको हल्दिवारी गाँउपालिकाले पनि स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन तथा ल्याव सेवालाइ प्रभावकारी बनाइने नीति तथा कार्यक्रम ल्याएको छ । गाँउपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थाप्रति विश्वास बढाउनका लागि बिभिन्न कार्यक्रमहरु ल्याईएको छ । स्वास्थ्य संस्थामा आइसकेको गर्भवती महिलाहरुलाइ अन्यत्र लैजानु पर्ने अवस्थामा गाँउपालिकाले आवश्यक सबै प्रकारको सहयोग गर्ने नीति लिएको छ, लिङ्देनले भन्नुभयो ।

गौरादह नगरपालिकाले वर्थिङ सेन्टर स्थापनाको लागि पूर्वाधार तयार गरिने र पूर्वाधार तयार भईसकेका स्वास्थ्य चौकीहरुलाई ल्याब र वर्थिङ सेन्टर सञ्चालनमा ल्याईने निर्णय गरेको छ । जिरो होम डेलिभरी नगरपालिका कार्यक्रम संचालन गरिने गरी आवश्यक तयारी र निर्णय गरेका छौ, नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनु भयो । अति विपन्न वर्गका गर्भवती १ सयजना महिलाहरुको निशूल्कस्वास्थ्य विमा गरिने पनि बताईएको छ ।