दमक/नेपाली काँग्रेस निकट ब्यवसायीहरुले दमक उद्योग बाणिज्य संघको अध्यक्ष उम्मेदवारका लागि सर्वसम्मत रुपमा गोकुल श्रेष्ठको नाम प्रस्ताव अघि सारेकाछन् । श्रेष्ठको नाममा सबैको सहमति जुटेको बताईएको छ ।
एकमहिना पछि हुने नयाँ नेतृत्व चयनमा उम्मेदवार छनोटमा नेकपा निकट ब्यवसायीमा तछाडमछाड शुरु भएसंगै काँग्रेसले उम्मेदवारको बिषयमा छलफल चलाउदा श्रेष्ठको नाम आएको हो ।
दमक उद्योग बाणिज्य संघलाइ लामो समय चलाएका प्रकाश प्रसाइ लगायतका ब्यवसायीक नेतृत्वले श्रेष्ठलाइ अघि बढाउनका लागि प्रस्ताव ल्याएको र त्यसलाइ स्वीकार गरिएको बैठकमा सहभागि एकले बताए ।
औपाचारिक निर्णय भने नभएको बताईएको छ । श्रेष्ठले चाहेको अवस्थामा अब सर्वसम्मत रुपमा नै उनि अध्यक्षको उम्मेदवार बन्नेछन् । उनले इन्कार गरेको अवस्थामा भने विकल्प खोजिने पार्टीका एक नेताले बताए ।
सर्वसम्मत अध्यक्षको उम्मेदवारको अफर पाएका श्रेष्ठ अघिल्लो पटक अध्यक्षको उम्मेदवार रहेका थिए । त्यो भन्दा अघि उनले एक कार्यकाल प्रथम उपाध्यक्षको रुपमा बाणिज्य संघमा आफ्नो उपस्थिति जनाईसकेकाछन् ।
अघिल्लो पटकको हारलाइ यो पटक जीतमा परिणत गर्नका लागि उनलाइ उठ्नका लागि चौतर्फी दबाब रहेको छ । श्रेष्ठले अहिले पनि आफु छलफल र परामर्शमा नै रहेको बताउदै आएकाछन् ।










