मोरङ — उपचार खर्च बुझाउन नसक्दा झापाका दुई महिला अस्पतालमै बाध्यात्मक रूपमा बसिरहेका छन् । बिरामी निको भएको र चिकित्सकले डिस्चार्ज गरेको ९ दिन बितिसक्दा पनि उनीहरू विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा रोकिएका हुन् ।

झापाको गौरादह नगरपालिका ७, फोगेटीका २१ वर्षीया कल्पना शिवा र सोही उमेरकी आकृति मोतेलाई अस्पतालले निस्कन दिएको छैन । उनीहरू जेठानी–देवरानी हुन् । कल्पनाका पति लीलाबहादुर मोतेले असार २२ गते खुकुरी प्रहार गरेर घाइते भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगन्जले उपचारका लागि नोबेल अस्पतालमा भर्ना गराइदिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चिकित्सकले डिस्चार्ज गरिदिए पनि उपचार खर्च बुझाउन नसक्दा अस्पताल प्रशासनले निस्कन दिएको छैन । उनीहरूले उपचार खर्च छुट गरेर पनि १ लाख १० हजार रुपैयाँ तिर्नुपर्ने भनिएको छ । पत्रिकामा समाचार आएदेखि चिकित्सकले पटक–पटक अस्पतालको बदनाम गरेको आकृतिले गुनासो पोखिन् ।

अस्पताल प्रशासनले उपचार खर्च अधिकांश छुट गरिदिएको तर औषधि खर्च बुझाउन नसकेकाले समस्या भएको जनाएको छ । औषधि पसल अस्पतालको नभएकाले मिनाहा वा छुट गराउन आफूहरूलाई सकस भएको प्रशासनको भनाइ छ । आकृतिका बुबा गोपाल विश्वकर्मा गाउँमा १० हजार चन्दा संकलन गरेर बुधबार अस्पतालमा बुझाउन आएका थिए । अस्पताल प्रशासनले बिहीबार आउन सल्लाह दिएको उनले बताए । यो खबर कान्तिपुर मा रहेको छ