विष्णुप्रसाद पोखरेल
दमक । मद्यपान तथा धुम्रपान प्रयोग गर्नेहरु दमकमा मेलमिलापकर्ता हुननसक्ने भन्दै त्यस्तो कुलत भएको भए त्याग्नलाइ दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनु भएको छ । वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी तथा सदस्यहरुका लागि केहि दिन अघि भएको कार्यक्रममा बोल्दै नगर प्रमुख ओलीले मद्यपान गर्ने भए मेलमिलापकर्ताको पद त्याग्न निर्देशन दिदै अब एक रोज्नु पर्ने बताउनु भएको हो ।
दमक नगरपालिकाले स्थानीय समस्या स्थानीय स्तरमा नै सामधान गर्नका लागि मेलमिलाप समिति बनाएर त्यहाँ नमिलेका बिषयहरुमात्र दमक नगर न्यायिक समितिमा ल्याउन अभिप्रेरित गर्दै आएको छ । तपाइहरु नै मद्यपान गर्दै हुनुहुन्छ भने तपाइहरुले गरेको निर्णय न समाजले पत्याउछ न त त्यो निर्णय सुझबुझका साथ भएको हुन्छ, ओलीले भन्नुभयो । उहाँले आफुमा परिवर्तन ल्याउन र गाँउसमाजले पत्याउने हुनका लागि अनुरोध गर्नु भयो ।
प्रदेश नं. १ का प्रदेश सभा सदस्य अर्जुन राइले निर्णय लिँदा कसैको प्रभावमा र नाता गोताको रुपमा नलिन आग्रह गर्नु भयो । यस विषयमा तपाइहरुलाइ कतिसम्म थाहा छ आफन्तको मुद्धा पर्यो भने त्यस्ता मेलमिलापकर्ता निर्णय गर्दा बस्नुहुन्न, राइले भन्नुभयो । उहाँले पनि मद्यपान गर्ने बानीलाइ छाड्न आग्रह गर्नु भयो । आचरण सुधार गरेर समुदायमा सबैले पत्याउने बन्नुभयो भनेमात्र विश्वास बढ्छ, उहाँको भनाइ थियो ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले मेलमिलापकर्ता एवं मध्यस्थताकर्ताले कानूनी ज्ञान राख्नु पर्ने जनाउदै पढ्ने र कानूनी ज्ञान सिक्ने कुरामा ध्यान नदिएको भन्दै यसमा ध्यान दिन आग्रह गर्नु भयो । उहाँले नगरपालिकाले कानूनी पुस्ताकलय नै खोलेको बताउदै त्यहाँ आएर अध्ययन गर्न आग्रह गर्नु भयो । जिम्मेवारी पाएपछि त्यसलाइ पालना गर्न कानूनी ज्ञान आवश्यक पर्छ र त्यो सिक्न पढ्ने बानि बसाल्नुहोस्, अधिकारीले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले मेलमिलाप गर्ने बहानामा गम्भिर अपराधका बिषयहरुमा छलफल नगर्न आग्रह गर्नु भयो । उहाँले कुनै पनि विवादको बिषयमा छलफल गर्नु पर्दा समस्या आएमा वा अन्योल सिर्जना भएमा आफुहरुसंग बुझेमा त्यसको सहि बाटो सिकाउनका लागि सधै तयार रहेको बताउनु भयो । सबैको सहकार्यबाट मात्र मेलमिलाप र कानूनीराजको स्थापना हुनसक्छ, सुब्बाले भन्नुभयो ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले मेलमिलापकर्ताको जिम्मेवारी गहन भएको बताउदै यसलाइ सामान्य रुपमा नलिन आग्रह गर्नु भयो । स्थानीय स्तर तथा वाडस्तरमा सरकार भएको अनुभुत गर्नका लागि यसको भूमिका पनि निर्भर रहने उहाँको भनाइ थियो । कुनै पनि समस्याहरु पर्दा वाडबाट नै मिल्दारहेछन् र न्याय पाइदो रहेछभन्ने भयो भने स्थानीय सरकारप्रति विश्वास बढ्छ, उहाँले जनाउनु भयो ।
कार्यक्रममा सहयोग पुर्याईरहेको यु.एन.एच.सि.आरका कार्यक्रम अधिकृत जेम्स मान्डोले स्थानीय सरकारसंग मिलेर आफुहरु मेलमिलापकर्ताको क्षमता विकासमा सहयोग गर्न सधै तयार रहेको र यसभन्दा अगाडि पनि सहयोग गर्दै आएको बताउनु भयो । उहाँले आफुहरु स्थानीय सरकारसंग मिलेर यस क्षेत्रका जनताको सुखका लागि काम गर्न तत्पर रहेको प्रतिबद्धता उहाँले जनाउनु भएको थियो ।










