विष्णुप्रसाद पोखरेल दमक । दमक नगरपालिकाले स्थानीयस्तरमा बेरोजागर युवाहरुलाइ रोजगार बनाउने उदेश्यका साथ बहुप्राविधिक शिक्षालय यसैबर्षबाट सञ्चालनमा ल्याउने भएको छ ।
स्थानीय स्तरमा आवश्यक जनशक्ति उत्पादनका लागि नगरपालिका आफैले सञ्चालन गर्न आवश्यक नीति नियम र कार्यविधि बनाएर बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याउन लागेको पाईएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट यो पहिलो बर्ष सिभिल ओभरसियर र होटल म्यानेजमेन्ट पढाउनका लागि स्वीकृत पाएको दमक नगरपालिका उपप्रमुख तथा नगर शिक्षा समिति संयोजक गीता अधिकारीले बताउनु भयो । यसका लागि पुर्वधार बनाउन केहि समय लाग्ने भएकाले कुनै घर तथा स्थल भाडामा लिएर सञ्चालन शुरु गर्न लागिएको पनि उहाँले जनाउनु भएको छ ।
स्थानीय सरकार आफैले दमकमा बुहप्राविधिक शिक्षालय सञ्चालनका लागि सम्भाब्यता अध्ययन सहित आवश्यक रणनीति बनाउनका लागि नगरपालिकाले हेमनाथ अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यसको आवश्यकता र औचित्यताबारे दिएको प्रतिवेदनका आधारमा शिक्षालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।
यहाँ आवश्यक पर्ने प्राविधिक जनशक्ति स्थानीय सरकारले नै उत्पादन गर्ने लक्ष्य लिएर यसलाइ अघि बढाईएको पनि ओलीको भनाइ रहेको छ । हामी भविष्यमा यहाँ आवश्यक पर्ने सबै प्रकारका प्राविधिक जनशक्ति हामी आफ्नै शिक्षालयबाट उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेका छौ, उहाँले भन्नुभयो । अति बिपन्न र कम आयश्रोत भएकाहरुले समेत यहाँबाट प्राविधिक शिक्षा पाउनेछन्, उहाँको भनाइ छ ।
संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर)ले दमकस्थित हम्सेदुम्से सामुदायिक बनको कार्यालय छेउमा बनाएको तालिम केन्द्रलाइ नै शिक्षालयको रुपमा प्रयोग गर्न लागिएको बताईन्छ । हामीले तत्काल त्यहाँ सञ्चालन गर्ने अवस्था रहेको भनेर प्रतिवेदन दिएका छौ, कार्यदलका प्रमुख अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार आफुहरुले देशभर रहेका बिभिन्न शिक्षालयहरु अध्ययन गरेको जनाउदै त्यस अनुसार सञ्चालन विधि र प्रक्रिया समेतको प्रतिवेदन बुझाएर नै यो अवस्थासम्म आएको उहाँको भनाइ छ । आंगिक, नीजि र साझेदारी अवधारणा अनुसार शिक्षालयहरु चल्दै आएकोमा यसलाइ सिटिइभिटीको साझेदारीको रुपमा सञ्चालन गरिने पनि बताईएको छ । स्थानीय सरकारले यस किसिमको शिक्षालय एक नम्बर प्रदेशमा कहि पनि चलाएको पाएनौ र यो नै पहिलो हो, अधिकारीको दाबी छ ।










