विष्णुप्रसाद पोखरेल

दमक । झापाको दमकमा ३ बर्षपछि फेरी डेंगुको महामारी देखिन शुरु गरेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमकको जिल्ला अस्पताल दमक सहित अन्य नीजि अस्पतालहरुमा डेंगुका विरामीहरु भर्ना हुने क्रम बढेको पाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारी दमक अस्पताल सहित नीजि अस्पताल आम्दा, लाइफलाइन र एडभान्स अस्पतालमा विरामीहरुको चाप बढ्न थालेको हो । जेठ र असार महिनामा फाट्टफुट्ट देखिएको डेंगु रोगको संक्रमण साउन अन्तिममा आइपुग्दा बढेको पाएका छौ, अर्यालले भन्नुभयो । बुधबारसम्म अस्पतालहरुमा आएर जाँच गराएर भर्ना भएका बिरामीको संख्या  १ सय २५नाघेको उहाँले जनाउनु भयो ।

अस्पतालमा झुल सहित विरामीहरुको उपचार भईरहेको पाईएको छ । अन्यलाइ संक्रमण हुनसक्ने भएकाले झुलभित्र नै विरामीलाइ राखेर आवश्यक परामर्श र उपचार गरिरहेको लाइफलाइन अस्पतालकी डा. खुश्वु प्रीयाले बताउनु भयो । पछिल्लो समयमा यसको संक्रमण बढेर महामारीको रुपमा लिदै गएकाले समयमा नै सचेत हुनु पर्नेमा उहाँको जोड रहेको छ ।

नीजीमा सशुल्क, सरकारीमा निशुल्क

डेंगु रोगले महामारीको रुप लिन सक्ने भएकाले यसलाइ नियण्त्रण र उपचारका लागि दमकस्थित सरकारी दमक अस्पतालमा निशुल्क जाँच सहितको उपचारको बन्दोबस्त मिलाईएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनु भयो । बाहिर अस्पतालमा डेंगु किटकोमात्र बिरामीले ६ सय रुपियाभन्दा बढि तिर्ने गरेकाछन् ।

यो दमक अस्पतालमा निशुल्क रहेको पनि अर्यालले बताउनु भयो । नीजि अस्पतालहरुलाइ सकेसम्म निशुल्क गर्न र नसकेको अवस्थामा कम शुल्क लिएरमात्र उपचारको ब्यवस्था मिलाउन आग्रह गरिएको समेत अर्यालको भनाइ रहेको छ ।

नीजि अस्पतालले डेंगु पहिचान भएका तथा शंकाश्पद बिरामीलाइ सरकारी अस्पतालमपठाए तिनिहरुलाइ हामी निशुल्क सेवा प्रदान गर्छौ, अर्यालको भनाइ छ । तीनबर्ष अघि महामारीको रुपमा लिएपनि बीचमा दुईबर्ष दमकमा ड्ेंगु रोग देखिएको थिएन ।

सामाजिक विकास मन्त्रालयसंग सहयोग माग

दमक नगरपालिकाले डेंगु रोग महामारीतर्फ उन्मुख भएपछि प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयमा यसको रोकथामका लागि सहयोग माग गरेको छ । स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार पत्र लेखेर सहयोग माग गरिएको बताउनु भयो । यसलाइ समयमा नै रोकथाम गर्न आवश्यक सहयोग गर्नका लागि मन्त्रलायलाइ आग्रह गरेर पत्र पठाईएको अर्यालले जनाउनु भयो । यो एकल प्रयासबाटमात्र सम्भव नभएकाले मन्त्रालयलाइ समेत जानकारी गराउदै सहयोग मागिएको हो, उहाँले भन्नुभयो ।

के हो डेंगु

डेंगु रोग भाइरस बाट हुने र एडिस एजिप्टाई जातको संक्रमित पोथि लामखुट्टेको टोकाई बाट सर्ने संक्रमक सरुवा रोग भएकाले यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम उपाय भएको पनि उहाँले बताउनु भयो । यो रोग सार्ने लामखुट्टे बाघको जस्ता वुट्टा भएको हुने भएकाले यसलाइ बाघ लामखुट्टे पनि भन्ने गरिएको बताईएको छ ।

डा. सुर्यनारायण शाहका अनुसार यसको संक्रमण देखियो भन्दैमा धेरै डराउने अवस्था रहेको जनाउदै डराउनु नपर्ने बताउनु भयो । उहाँले नियमित जाँच गराएर झोलिलो पदार्थ धेरै खाएर बस्नु पर्नेमा जोड दिनु भयो । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड,जोर्नि तथा मांसपेशीहरु दुख्नु, शरिरमा विमिरा आउने, रक्तश्राव हुनेजस्ता लक्षणहरु यसमा देखा पर्ने उहाँले जनाउनु भयो ।