भद्रपुर । बिर्तामोड–भद्रपुर निर्माणाधीन सडक खण्डको नालामा डुबेर एक महिलाको मृत्यु भएको छ । सडक ठेकेदारको लापरवाहीले महिलाको मृत्यु भएको भन्दै स्थानीयले प्रहरीलाई शव उठाउन दिएन् ।
सडकको नालामा डुबेर मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० बस्ने अन्दाजी ६७ वर्षीया सुमित्रा राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरगत बिर्तामोड ३ स्थित सैनिक मोड अर्थात् मेची आँखा अस्पताल नजिकै खनिएको नालाका पानीमा डुबेर महिलाको मृत्यु भएको हो ।
सडकको नालामा कसरी महिलाको डुबेर मृत्यु भएको भन्ने विषयमा केही खुलेको छैन । निर्माणाधीन सडकको छेउको नालामा महिला राईको शव तैरीरहेको अवस्थामा स्थानीयवासीले शुक्रवार बिहान देखेपछि प्रहरीलाई तत्काल खबर गरेका थिए ।
यता प्रहरीले महिलाको शवलाई उठाएर लैजान खोज्दा स्थानीयले दिएका छैन । सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । सडक डिभिजन कार्यालय दमकका कर्मचारी आएपछि छलफल गरेर मात्र शव उठाउन दिने स्थानीयको माग रहेको छ । अहिले प्रहरी टोली सडक कर्मचारीको पखाइमा रहेका छन् ।










