काठमाडौं । आज कुशे अर्थात् पितृ औंशी । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको उहाँले बताउनुभयो ।
पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारी भट्टले बताउनुभयो । कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै बसेका थिए ।
यस वर्ष गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा प्यागोडाशैलीको तीन तले मन्दिरमा झिँगटीको छाना निकाली पित्तलमा सुन लेपन गर्ने काम पनि शुरु भएको छ । दोस्रो तलाको छानामा सुन लेपन गरिएको पित्तल हाल्ने काम सम्पन्न भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न भेला भएका छन् । महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ । यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन् । जोरपाटी चोकबाट गोकर्णेश्वर महादेव मन्दिर भएको सडक किनारमा बिहीबारदेखि अस्थायी पसल सञ्चालन सहित मेला लागेको छ ।
बिहीबारदेखि नै भक्तजनको भीड लागेपछि जोरपाटीबाट माथितिरको यातायात सञ्चालन भएको छैन । सडकको दूरावस्थाका कारण भने यात्रुले मन्दिर जान पनि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । गत वर्षभन्दा यहाँको सडक बिग्रिएको पाइएको भक्तजन रामचन्द बस्यालले बताउनुभयो ।
यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गोकर्णेश्वर महादेव मन्दिरमा पिताप्रति सम्मानका साथ श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औँशी पनि भनिन्छ ।
यसैगरी उपत्यका बाहिर बेत्रावतीस्थित उत्तरगया, देवघाट, त्रिवेणी, रिडी इन्द्रावती किनारस्थित स्फटकिश्वर महादेव मन्दिर क्षेत्र लगायत स्थानमा पनि भक्तजनको भीड लागेको छ । बाबु जीवित हुने छोरा छोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर मुख हेर्छन् । ‘पितृदेवो भव’ अर्थात् बाबुलाई देवता समान मान भन्ने वैदिक मान्यताअनुसार पितृ सम्मान गरी आजको पर्व मनाइन्छ ।
यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ । ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पु¥याउने परम्परा छ । यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ । यस अवसरमा गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।










