विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक नगरपालिकाले दमकभित्र रहेका अस्पतालहरुलाइ पत्र पठाउदै जेष्ठ नागरिक अर्थात ७० बर्षभन्दा माथिका बिरामीलाइ लाइन बेगर नै उपचारको ब्यवस्था मिलाउनका लागि निर्देशन दिएको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सहभागि भएका तथा अन्य ७० बर्ष उमेर पुरा गरेका बिरामीहरुलाइ लाइनमा नराख्न निर्देशन दिएको बताईएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार स्वास्थ्य बिमामा दर्ता भएका तथा अन्य जेष्ठ नागरिकहरु घण्टौसम्म लाइन बस्नु पर्ने बाध्यता रहेको पाईएपछि बोर्ड बैठकबाट निर्णय गरेर नै यस्तो निर्देशन दिईएको हो । हामीले दमकमा रहेका सबै अस्पतालहरुलाइ पत्रचार गरेर जेष्ठ नागरिकलाइ आउनसाथ उपचारको ब्यवस्था मिलाउनका लागि निर्देशन गरेका छौ, ओलीले भन्नुभयो ।
दमकको सरकारी दमक अस्पताल, आम्दा अस्पताल, लाइफलाइन अस्पताल, नीजि दमक अस्पताल, निम्स अस्पताल र ओम मेची अस्पतालले नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा गराएकाहरु सेवा दिदै आएको छ । यि अस्पतालहरुमा पहिला जो आउछ उसैले छिटो सेवा पाउने अवस्था रहेको थियो । जेष्ठ नागरिकका लागि बेग्लै ब्यवस्था रहेकोका कारण दिनभर लाइन बसेरमात्र सेवा पाउदै आएका थिए ।
सरकारी दमक अस्पतालले टोकन प्रणाली नै शुरु गरेको छ । टोकन लिएपछि माइकमा नाम आएपछि बिरामीले सेवा लिन पाउने ब्यवस्था मिलाईएको थियो । दमक अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहनु भएकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार अब जेष्ठ नागरिकले लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ । जेष्ठ नागरिकहरुले आउनसाथ सेवा पाउने वातवरण बनाएका छौ, उहाँले भन्नुभयो ।
दमकका सबै नागरिकहरुलाइ बिमामा समावेश गराउने र सहज स्वास्थ्य सेवा प्रदान गर्ने अवस्था ल्याउनका लागि प्रयत्नशील रहेको समेत अधिकारीले बताउनु भयो । नीजि अस्पताल र सरकारी अस्पतालले दिने सेवालाइ प्रभावकारी बनाउन हामी अनुगमन समेत गर्नेछौ, अधिकारीले भन्नुभयो ।










