भद्रपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका १ स्थित जमुनखाडी चोकमा यात्रुवाहक बस र स्कुटर ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार भद्रपुर नगरपालिका ९ बस्ने २८ वर्षीया सुजन पोखरेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ गइरहेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको सिमोन ट्राभल्स नामक यात्रु वाहक बसले पछाडिबाट ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिने बस अनियन्त्रित भई सडकबाट तल खसेर पल्टिएको थियो ।
बसको ठक्करबाट स्कुटरमा पछाडि सवार पोखरेलको गम्भीर घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए । स्कुटर पछाडि सवार मृतकको श्रीमान् अर्जुनधारा नगरपालिका १ बस्ने २८ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । बस पल्टिएर १८ जना घाइते भएको उनीहरूको बिर्तामोडका अस्पतालमा उपचार भइरहेको छ , भने प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
बस पल्टिदा घाइते हुनेहरू इलाम महमाई नगरपालिका ७ बस्ने ४६ वर्षीया रेणुका राई, इलाम दानावारि बस्ने ७ वर्षीय प्रतीक गिरी, इलाम माई नगरपालिका १ दानावारि बस्ने २४ वर्षीया प्रेम कुमारी प्रधान, सोही नगरपालिका १ बस्ने ६ वर्षीय जोन प्रधान, झापा अर्जुनधारा नगरपालिका ४ बस्ने ५५ वर्षीया यम कुमारी कोइराला, सोही नगरपालिका २ बस्ने २८ वर्षीय विनोद भण्डारी, सिराहा गोल बजार नगरपालिका १ बस्ने ४० वर्षीया जानुका मगर, इलाम माई नगरपालिका २ बस्ने ३५ वर्षीया माया गिरी, इलाम माई नगरपालिका ७ बस्ने १६ वर्षीया मनीषा श्रेष्ठ , अर्जुनधारा नगरपालिका ९ बस्ने ६३ वर्षीया चन्द्रकला मिश्र , इलाम माई नगरपालिका ४ बस्ने २६ वर्षीया अनिता परियार, अर्जुनधारा नगरपालिका ७ बस्ने १० वर्षीय ग्रिस सुवेदी, अर्जुनधारा नगरपालिका ७ बस्ने ४५ वर्षीय बासुदेब सुवेदी, इलाम माई नगरपालिका २८ वर्षीय विशाल मगर , बुद्दशान्ति गाउँपालिका २ बस्ने ५० वर्षीय केदार अधिकारी, इलाम माई नगरपालिका १ बस्ने २ वर्षीय जोसना प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










