विष्णुप्रसाद पोखरेल

दमक । दमक सहित झापामा उपभोक्ताहरुले महगो मूल्यमा गुणस्तरहिन पानी किनेर खाइरहेको पाईएको छ । पानीको मूल्यमा एकरुपता नहुँदा र प्रतिस्पर्धात्मक बजारमा ब्यापारीले उद्योगबाट सस्तो मूल्यमा पानी लिने तर उपभोक्तालाइ भने महगो मूल्य लिने गरेको पाईएपनि यस बिषयमा सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय उद्योगले न्यूनतम ९ रुपियादेखि बढिमा ११ रुपियासम्ममा प्रति बोतल (१ लि.) पानी ब्यापारीलाइ उपलब्ध गराउदै आएको पाइन्छ । उपभोक्ताले यो पानी खुद्रा रुपमा न्यूनतम २५ देखि ५५ रुपिया तिर्नु पर्ने अवस्था रहेको छ । मंगलवार झापाको बिर्तामोडमा भएको छलफलमा समेत यस बिषयमा आवाज उठेको छ । झापामा एकसाथ १८ वटा ब्राण्डको पानीको परीक्षण गर्दै यस बिषयमा छलफल भएको थियो ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराइले उपभोक्ताले एक लिटर पानीको ५५ रुपियासम्म मूल्य तिरेर खानु परेको बताउदै पानीको मूल्यमा एकरुपता ल्याउन माग गर्नु भएको थियो । लागतमूल्यलाइ आधार बनाएर पानीको मूल्य निर्धारण गर्नका लागि सुझाव दिदै यसमा गम्भिर बन्न उहाँको आग्रह छ ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले पानीमा उपभोक्ताहरु गठिनबाट रोक्नु सबैको दायित्व भएको बताउनु भयो । उहाँले उद्योगबाट ब्यवसायीले लिएको मूल्य र उपभोक्ताले तिर्ने मूल्य दोब्बरभन्दा बढि भएको बताउनु भयो । गुणस्तरहिन पानी पनि महगो मूल्य लगाएको उपभोक्ताले खानु पर्ने बाध्यताको अन्त्य हुनुपर्छ, उहाँले भन्नुभयो । हामीले बारम्बार यस बिषयमा कुरा उठाएका छौ तर स्थानीय सरकार यसमा संवेदनशिल भएको छैन, उहाँको भनाइ थियो ।

बिर्तामोडकी उपमेयर पवित्रा महतारा प्रसाईंका अनुसार पानीको गुणस्तरीयता कम भएमा त्यस्तो पानी बन्द गरिनु पर्ने बताउनु भयो । उहाँले पानीको गुणस्तर र मूल्यको बिषयमा नियमिति अनुगमन गरिने समेत बताउनु भयो । उपभोक्ताहरुको गुनासो र मागलाइ हामी सम्बोधन गर्छौ, उहाँले भन्नुभयो । स्थानीय सरकारलाइ सहयोग गर्नका लागि आग्रह गर्दै उहाँले सूचना उपलब्ध गराउन आग्रह पनि गर्नु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरका प्रमुख भरत पुरीका अनुसार झापामा उत्पादन भएका पिउने पानी स्वच्छ र गुणस्तरीयताको बिषयमा नमुना परीक्षण गर्दा कतिपयले न्यूनतम मापदण्ड पुरा नगरेको पाईएको बताउनु भयो । नियमित रुपमा अनुगमन र परीक्षणका लागि हामीसंग जनशक्ति अभाव रहेको छ, उहाँले भन्नुभयो ।