बिष्णुप्रसाद पोखरेल
झापा/झापाको दमकबाट चुरेको पहाड छिचोल्दै इलामका चुलाचुली छुदै पाँचथरको रबीसम्म पुगिने दमक चिसापानी रबि सडक अर्थात फाल्गुनन्दमार्ग निर्माण कार्यमा अहिलेसम्मकै ठुलो सफलता मिलेको छ ।
प्रधानमन्त्री तथा झापा क्षेत्र नं. ५ का सांसद केपी शर्मा ओलीको प्रयासमा यस सडक कालोपत्रे गर्नका लागि दुइ अरब रुपियाको टेण्डर खुलेको छ । यो दमक चिसापानी सडक निर्माणको इतिहासमा सबैभन्दा ठुलो रकमको ठेक्का लाग्न लागेको हो ।
सडक उपभोक्ताका लागि आकाशको फल आँखातरि मर जस्तै भएको अवस्थामा यसले खुसि छाएको छ । निर्माण शुरु भएको करिब २३ बर्ष पछि दमकदेखि चिसापनी सडकको बिस्तृत अध्ययन(डिटेल सर्वे) समेत २ बर्ष अघि भएको थियो ।
पूर्व साँसद डा.गोपाल कोइराला सडक पूर्ण रुपमा शुचारु गरेर छाडछु भनेर लागेपनि त्यो इच्छा पुरा नहुदै उनी बिते । उपभोक्ता समितिमा तछाडमछाड र यस क्षेत्रका शिर्ष नेताहरुको प्रत्येक बर्षको मूख्य नाराको रुपमा नै यो सडक अघि सारिएपनि बजेट अभावले काम हुन सकेको थिएन ।
इलामको चिसापानीसम्म ३५ किलोमिटर मात्र रहेको छ । यहाँबाट पाँचथर पुग्न अझै १० किलिमिटर दुरी तय गर्नु पर्छ । २ भागमा बिभाजन गरेर गरिएको अध्ययन अनुसार लारुम्बासम्म २३ किलोमिटर र लारुम्बादेखि चिसापानीसम्म १२ किलोमिटर छुट्याईएको छ ।
हिउदमा रतुवा खोला नै खोला सवारी साधन चलेपनि बर्षाद्को समयमा यस क्षेत्रका बासिन्दा अप्ठेरोमा पर्ने गर्छन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीका अनुसार यस क्षेत्रका जनताका लागि आज खुसिको र गर्वको बिषय भएको छ ।
सडकलाई बहुबर्षिय योजनामा पारेको केहि समयपछि पुरै सडक कालोपत्रेका लागि आएको बजेट र बोलपत्र आह्वानले खुसिको सिमा नरहेको उनले जनाए । बुधबार दमकमा पत्रकार सम्मेलन गरेर उनले प्रधानमन्त्री सहित यसमा पहल गर्ने सबैप्रति आभार प्रकट गरे ।











