विष्णुप्रसाद पोखरेल
दमक । हल्दीबारी गाँउपालिकाले अभिभावक नभएका बेसहारा बालबालिकाहरुको विवरण लिन शुरु गरेको छ । गाँउपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वेसहारा बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भन्ने निर्णय भएकाले उक्त निर्णय कार्यन्वयनका लागि विवरण लिने काम शुरु भएको गाँउपालिकाका उपाध्यक्ष तथा शिक्षा संयोजक डम्बर गिरीले बताउनु भयो ।
अभिभावक नभएका १६ बर्ष उमेर समुह भित्रका वेसहारा बालबालिकाको शैक्षिक क्रियाकलापममा सहयोग पुर्याउनका लागि ‘वेसहाराको साहारा, हल्दीबारी गाँउपालिकाका’ नामक कार्यक्रम नै घोषणा गरिएको गिरीले जनाउनु भयो । यस कार्यक्रम अन्र्तगत प्रत्येक बेसहारा बालबालिकालाइ मासिक पाँच सय रुपिया सहयोग उपलब्ध गराइने पनि उहाँले बताउनु भयो ।
गाँउपालिकाको चौधो गाँउ सभाबाट पारित नीति तथा कार्यक्रमको कार्यन्वयनका लागि तथ्याङ्क आवश्यक भएकाले प्रत्येक वाड कार्यालयलाइ तथ्याङ्क पठाउनका लागि निर्देशन दिईएको गाँउपालिकका अध्यक्ष रबिन्द्र लिङ्देनले बताउनु भयो । लिङ्देनका अनुसार बालबालिकाको नाम, थर, बालबालिकाको उमेर, बालबालिकाको संरक्षकको नाम,थर र अध्ययन गर्ने शैक्षिक संस्थाको नाम र ठेगना संकलन गरेर वाड कार्यालयहरुले गाँउपालिकालाइ पठाउनेछन् ।
विद्यालय पढ्दै आएका यस्ता बालबालिकाहरुलाइ उनिहरु पढ्दै आएको शैक्षिक संस्थामा नै पठनपाठनको ब्यवस्था मिलाइने र विद्यालय बाहिर रहेको भए उनिहरुलाइ पढ्ने ब्यवस्था मिलाइने पनि उहाँको भनाइ रहेको छ । कोहि पनि अभिभावक नभएकाहरुको शिक्षाको दायित्व अब गाँउपालिकाले लिन्छ र यो हामीले स्थानीय सरकार तथा आफ्नो कर्तब्य ठानेका छौ, लिङ्देन भन्नुभयो ।
हल्दीबारी गाँउपालिकाले यसभन्दा अघि नै कक्षा ११ र १२ मा सामुदायिक विद्यालय पढ्ने सम्पूर्ण विद्यार्थीहरुलाइ निशुल्क पढाउने निर्णय गरेको थियो । शिक्षा क्षेत्रलाइ गाँउपालिकाले बिशेष प्राथमिकतामा राखेको र बिद्यालय तहको शिक्षाबाट कोहि पनि नछुटुन भन्ने आफुहरुको उदेश्य रहेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार यसै बर्षबाट एक वडा, एक मा.वि. को अवधारणालाई अघि बढाइने समेत नीति तथा कार्यक्रममा पास भएको छ । नेपाल सरकारबाट विशेष अनुदान वापत्को रकम प्राप्त गरी सबै मा.वि. मा कम्तीमा एक/एक वटा स्कुल बसको व्यवस्था मिलाइने र यसका लागि न्युन विद्यार्थी संख्या र पर्याप्त विषय शिक्षकको दरबन्दी विना नै माध्यमिक शिक्षा सञ्चालनमा रहेका वडा भित्रका सामुदायिक विद्यालयहरुलाई आपसमा समायोजन गर्ने नीति अख्तियार गरिएको उहाँको भनाइ छ ।










