काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संघीय संसद भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो ।

१ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ । दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ । संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ ।

सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ । नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ ।

भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।