झापा । हल्दीबारी गाउँपालिकाले ‘पालिका’भित्रै अन्तर विद्यालय १३ जना शिक्षकको सरुवा गरेको छ । गाउँपालिकाले शिक्षक सरुवा गरेको भन्दै शिक्षा, विकास समन्वय इकाई झापाले ‘पालिका’ भित्रका सामुदायिक विद्यालयमा हस्तक्षेप गर्दा दुवै पक्ष बिच अहिले विवाद बल्झिएको छ । यता गाउँपालिकाले शिक्षा, विकास तथा समन्वय इकाई झापालाई संविधानले स्थानीय तहलाई दिएको अधिकार माथि हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।
गत भदौ २३ गते गाउँपालिकामा बसेको बैठकले गाउँपालिका उपाध्यक्ष तथा शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे र शिक्षा शाखा प्रमुख रामबहादुर दाहाल रहेको समितिले अन्तर विद्यालय शिक्षक सरुवा गर्ने निर्णय गरेको थियो । समितिले गाउँपालिका शिक्षा नियमावली २०७५ को नियम ५७ मा सामुदायिक विद्यालयका शिक्षकलाई अन्तर विद्यालय सरुवा गर्ने प्रावधान अनुसार शिक्षक सरुवा गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष गिरीले जानकारी दिए ।
गाउँपालिकाले शिक्षक सरुवाको विषयमा गरेको निर्णयको ९ दिनपछि अर्थात् भदौ ३१ गते शिक्षा, विकास तथा समन्वय इकाई झापाले हल्दीबारी गाउँपालिका मातहतका सम्पूर्ण विद्यालयहरूलाई सोझै पत्राचार गरी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्ने आशय जस्तै, हाल रवाना नदिनु र हाजिर नगराउनु भनी पत्राचार गरेका थिए । इकाई सोजै विद्यालयहरूमा त्यस्तो आशयको पत्राचार गरेपछि गाउँपालिका र इकाई बिच विवाद बल्झिएको हो ।
गाउँपालिकाले दिए यस्तो चेतावनी
यता संविधानको मर्म विपरीत र स्थानीय सरकारले चालेको कदममा शिक्षा, विकास तथा समन्वय इकाईले हस्तक्षेप गर्न खोजिएकोमा आपत्ति जनाउँदै यस्तो कार्यको भर्त्सना गर्दै गाउँपालिकाले भदौ ३१ गते विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीले विज्ञप्ति जारी गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला निकायहरूबिच समन्वयकारी भूमिका निर्वाह गरी संवैधानिक एवम् कानुनी प्रावधानको पालना गर्नुपर्नेमा सोको बर्खिलाप स्थानीय तह र विद्यालयबिच संस्थागत दुरी बढाउने भूमिकामा तल्लीन यस कार्यमा संलग्न पक्षलाई कारबाहीको दायरामा ल्याउन सम्बद्ध निकायमा हार्दिक अनुरोध गर्दछौँ । निर्णयलाई कार्यान्वयन गर्ने दृढतासहित गाउँपालिकाका सम्पूर्ण विद्यालय तथा शिक्षक र अभिभावकलाई सहयोगका लागि विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, गाउँपालिकाले १३ जना शिक्षकलाई अन्तर विद्यालय कामकाजमा पठाउने निर्णय गरेको थियो । संविधानको मर्म अनुरूप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिम स्थानीय निकायले प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन, सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन, गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन, गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन, विद्यालयको नामकरण, सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन, विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरणलगायतका काम गर्ने ऐनमा प्रस्ट उल्लेख गरिएको छ । यस्तै सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान, विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन, सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन, आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन लगायतका काम स्थानीय तहबाट हुन्छ भनी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ १३ जना शिक्षक सरुवाको नामावली
गाउँपालिकामा भदौ २३ गते बसेको बैठकले अन्तर विद्यालय शिक्षक सरुवा अन्तरगत पहिलो चरणमा १३ जना शिक्षकलाई सरुवा गर्ने निर्णय गरेको छ । सरुवा हुने शिक्षकहरूमा लक्ष्मी माविका शिक्षक मदन पोखरेललाई सरस्वती आधारभूत विद्यालयमा अङ्ग्रेजी शिक्षकको रूपमा सरुवा गरिएको, लक्ष्मी माविका अर्जुन भट्टराईलाई दीपेन्द्र प्राविमा गुणस्तर सुधार गर्न, लक्ष्मी माविका शिक्षक बोधकृष्ण पौडेललाई महेन्द्र माविको लेखा विषय अध्यापन तथा थप जिम्मेवारी, पञ्चायत माविका शिक्षक छविलाल गणेशलाई लक्ष्मी माविमा डिग्री उपयोग गर्न, दीपेन्द्र प्राविकी सविना भट्टराईलाई लक्ष्मी माविमा डिग्री उपयोग गर्न, रामेश्वर प्राविका शिक्षक सूर्यप्रसाद घिमिरेलाई सरस्वती आधारभूतमा गुणस्तर सुधार गर्न, रामेश्वर प्राविका शिक्षक भानुभक्त न्यौपानेलाई शान्ति प्राविमा गुणस्तर सुधार गर्न, महेन्द्र माविका शिक्षक लोकप्रसाद भण्डारीलाई लक्ष्मी माविमा गुणस्तर सुधार गर्न , सरस्वती आधारभूतमा शिक्षक मेनुका शर्मालाई रामेश्वर प्राविमा गुणस्तर सुधार गर्न, सरस्वती आधारभूतका शिक्षक दिलकुमारी विष्टलाई रामेश्वर प्राविमा गुणस्तर सुधार गर्न, सरस्वती आधारभूतका शिक्षक माया सुबेदीलाई लक्ष्मी माविमा गुणस्तर सुधार गर्न, सरस्वती आविका शिक्षक चिन्तामणि भट्टराईलाई दीपेन्द्र प्राविमा गुणस्तर सुधार गर्न, लक्ष्मी माविका शिक्षक शिवनाथ पाण्डेलाई पञ्चायत माविमा अङ्ग्रेजी शिक्षकको पदपूर्ति गर्न भनी निर्णय गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । टाइम्स अफ प्रदेश बाट
यो पनि हेर्नुहोसhttps://youtu.be/0ZydK8sKjHk










