विष्णुप्रसाद पोखरेल

दमक/ दमक ५ की ४५ बर्षिय सुभद्रा निरौला (नाम परिवर्तन) लाइ पाठेघरमा समस्या भएजस्तो लागेको २ बर्षभन्दा बढि भएको थियो । तर अस्पतालमा गएर जचाउने र देखाउने आँट यो अवधिमा कहिल्यै पनि आएन । उहाँले दमक नगरपालिकाले महिलाका लागि मात्र र महिलाका सबै समस्याहरुको बिषयमा स्वास्थ्य शिविर गर्दैछ भनेको थाहा पाएर शुक्रबार आफ्नो समस्या बताउने हिम्मत गरेर शिविर स्थल दमक रेडक्रसमा आउनु भयो । उहाँलाइ आङखस्ने समस्या रहेको जब चिकित्सकले बताउनु भयो त्यसपछि उहाँलाइ छाँगाबाट खसेजस्तो भयो । उहाँलाइ तत्कालै त्यहि चुरा अर्थात रिङ लगाएर उपचार गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाले गरेको स्वास्थ्य शिविरमा पहिलो पटक आएका धेरै महिलाहरुमा समस्या देखिएको बताईएको छ । निरौलाजस्तै आङ खसेर समस्या झेलिरहेका ५५ जना महिलाको रिङ लगाएर समस्या सामधान गरिएको र १० जनामा जटिल समस्या रहेको पाईएकाले थप उपचारका लागि रेफर गरिएको बताईएको छ । अन्य १ सय २१ जनालाइ औषधि दिईएको जनाईएकोछ । उनिहरुको दमक नगरपालिकाले शल्यक्रियामा सहयोग गर्ने दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जनाउनु भयो ।

दमक नगरपालिका उपप्रमुख अधिकारीका अनुसार ५० प्रतिशतको हाराहारीमा महिलाहरुमा कुनै न कुनै प्रकारको समस्या रहेको पाईएको स्वास्थ्यकर्मीहरुले बताएकाछन् । धेरैमा पाठेघरमा बिभिन्न प्रकारको संक्रमण भेटिएको समेत उहाँले जनाउनु भयो । हामीले यति धेरै समस्या महिलाले लुकाएर बस्नुहुन्छ भन्ने सोचेका थिएनौ तर समस्या लुकाएर बस्नु हु्नेरहेछ, अधिकारीले भन्नुभयो ।

सामुदायिक सेवा प्रतिष्ठानको प्राविधिक सहयोगमा ल्याव सहित भएको स्वास्थ्य शिविरबाट ९ सय ७४ जनाले सेवा लिएकाछन् । शुक्रबार अबेरसम्म विरामी महिलाहरुको लाइन लागेको थियो । पाठेघरको मुखको क्यान्सरको पहिचान गर्ने भिजुअल ईन्स्पेक्सन एसिटिक एसिड ‘भिआइए’ परिक्षणको क्रममा २८ जनामा क्यान्सरको सम्भावाना देखिएको र तत्काल क्यान्सर जाँच हुने अस्पातल जान सल्लाह दिईएको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनु भयो ।

५ सय ८३ जना महिलाको भिआइए परिक्षण गरिएको पनि अर्यालले जनाउनु भयो । भिआइए परिक्षण विधिमा पाठेघरको मुखमा एकप्रकारको रासायनिक पदार्थ लगाएर क्यान्सर हुन सक्ने वा नसक्ने बारे यकिन गरिन्छ । स्त्रीरोग विशेषज्ञ डा. प्रमोद पोखरेलका अनुसार पाठेघरको मुखमा रासायनिक पदार्थ लगाएपछि देखापर्ने रङगका आधारमा क्यान्सर भए नभएको जानकारी हुन्छ ।

महिलाको पाठेघरमा निस्कने साना साना घाउ, खटिराका कारण हुन सक्ने पाठेघरको क्यान्सर समयमै निवारण गर्न सकियोस भनेर यो विधि अपनाएर जाँच गर्न सकिने बिशेषज्ञहरुको भनाइ छ । नगरपालिकाका अनुसार ३ सय ६५ जनामा पाठेघरमा बिभिन्न प्रकारको सक्रमणहरु भेटिएको थियो ।