विष्णुप्रसाद पोखरेल

दमक ।  दमकमा यातायातको क्षेत्रमा काम गर्ने चालक तथा मजदुरहरुलाइ अनिवार्य मजदुर परिचयपत्र लागु गर्ने निर्णय कार्यन्वयन शुरु गरिएको छ । सिटी सफारी तथा टेम्पो चलाउने चालक तथा मजदुरहरुलाइ आइतवार एक कार्यक्रमबीच परिचयपत्र वितरण गर्दै यो कार्यन्वयन शुरु भएको घोषणा गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले नगरपालिकाभित्रका बासिन्दाहरुलाइ लक्षित गरेर मजदुर परिचयपत्र लागु गरेको बताईएको छ । परिचयपत्र लिएका मजदुहरुको सम्पूर्ण विवरण नगरपालिकामा राख्ने र उनिहरुको कल्याणकारी कोष बनाउने योजना अनुरुप परिचयपत्र वितरण शुरु गरिएको नगरपालिकाकी निमित्त प्रमखु गीता अधिकारीले बताउनु भयो ।

भारतबाट आएर तथा बिना लाइसेन्स सिटीसफारी र टेम्पो कुदाउने कार्यलाइ निरुत्साहित गरिने समेत बताईएको छ । यात्रुले कस्को सिटी सफारी वा टेम्पोमा चढ्दैछु भन्ने नाम थाहा पाओस र ठगिएको अवस्थामा तत्काल नाम सहित उजुरी गर्न सकोस भनेर पनि नगरपालिका आफै परिचयपत्र बनाएर प्रदान गरेको अधिकारीले बताउनु भयो ।

शुरुवातमा १ सय मजदुरहरुलाइ नगरपालिकाले परिचयपत्र प्रदान गरिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । नगरपालिकाका कर्मचारीको जस्तो परिचयपत्र बनाएर मजदुरहरुलाइ प्रदान गरिएको जनाउदै यसले उहाँहरुलाइ जिम्मेवार बनाउने अपेक्षा लिईएको बताउनु भयो ।

प्रारम्भिक चरणमा सिटी सफारी र टेम्पो कुदाउने मजदुरलाइ परिचयपत्र प्रदान गरिएपनि यसलाइ सबै क्षेत्रका मजदुरसम्म पुर्याउने लक्ष्य रहेको पनि तिम्सिनाले बताउनु भयो । नगरपालिका मजदुरमैत्री बनाउछौ र उहाँहरुलाइ आफ्नो पेशाप्रति गौरव गर्ने अवस्था सिर्जना गर्नु हाम्रो पनि दायित्व हो, उहाँले भन्नुभयो ।

चाडपर्वको समयमा बाहिरबाट पाहुना आउने तथा पर्यटन बर्ष २०२० लाइ समेत लक्षित गरेर मजदुरहरुलाइ आफ्नो कर्तव्यबोध गराउदै परिचयपत्र प्रदान गरिएपछि बानीबेहोरामा समेत सुधार आउने नगरपालिकाको अपेक्षा रहेको सो अवसरमा बताईएको थियो । कार्यक्रममा बोल्दै दमक यातायात ब्यवस्थापन समितिका अध्यक्ष प्रजापती सापकोटाले नगरभित्र यातायातको क्षेत्रमा काम गर्ने सबै मजदुरहरुलाइ परिचयपत्र प्रदान गरिने प्रतिबद्धता जनाउनु भएको थियो ।