विष्णुप्रसाद पोखरेल
दमक । एउटा कक्षा कोठामा २ जनासम्म राखेर पनि विद्यालय टिकाउने अवस्था रहेको भन्दै विद्यालय गाभ्ने तयारी गर्दा शिक्षक तथा अभिभावकले यसको विकल्प रोज्न भनेपछि झापाको हल्दिबारी गाँउपालिकाले शिक्षकहरुको गाँउपालिकाभित्र अन्तर विद्यालय सरुवा गरेर यसको कार्यन्वयन गराएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ झापा र शिक्षकसग सम्बन्धित बिभिन्न संघसंगठनहरुले निर्णय कार्यन्वयन नगर्न दबाब दिएका थिए । दवाब भएपनि शिक्षकहरु गाँउपालिकाले खटाएको विद्यालयमा गएर हाजिर भएपछि यो कार्यन्वयनमा आएको र यसले स्थानीय सरकारले चालेको कदममा सहयोग पुगेको बताईएको छ ।
झापा जिल्लामा पहिलो पटक गाँउपालिकाले शिक्षकहरुको आन्तरिक सरुवा गरेर यसलाइ कार्यन्वयनमा ल्याएको हो । १३ जना शिक्षकहरुको आवश्यकताको आधारमा एक ठाँउबाट अर्को ठाँउमा पुष्टाइ सहित कामकाजमा खटाईएको हल्दीबारी गाँउपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनले बताउनु भयो ।
आफुहरुले धोरै विद्यार्थी भएका विद्यालय गाभेर शिक्षकहरुको मिलान गर्ने सोचेको तर सबैबाट तत्काल विद्यालय बन्द नगर्न र शिक्षक सरुवा गर्न सुझाव दिएकाले यो निर्णय लिएका हौ, लिङ्देनले भन्नुभयो । असोज १ गतेदेखि सरुवा भएका शिक्षकहरुले सरुवा भएको स्थानमा हाजिर हुने ब्यवस्था मिलाईएकोमा यसको कार्यन्वयन भएको छ, उहाँले भन्नुभयो ।
संबिधानले दिएको अधिकार र स्थानीय सरकारले बनाएको शिक्षा सम्बन्धिको कार्यविधिलाइ टेकेर लामो छलफल र बहसपछि अन्तर विद्यालय शिक्षकलाइ कामकाजमा खटाउने निर्णय कार्यन्वयनमा आएको छ, हल्दीबारी गाँउपालिकाका उपाध्यक्ष एवं गाँउ शिक्षा समितिका संयोजक डम्बर गिरीले भन्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ झापाले गाँउपालिकाले गरेको निर्णय कार्यन्वयन नगर्नका लागि पठाएको पत्रको औचित्य समाप्त भएको समेत गिरीले बताउनु भयो । शिक्षा सुधारका लागि भएको प्रयासमा सहजीकरण गर्नु पर्नेमा विवादमा पार्ने काम गरेकाले यस विषयमा हाम्रो ध्यानकर्षण भएको छ, गिरीले भन्नुभयो । २ जना विद्यार्थी पढाएर बस्ने वा धेरै विद्यार्थी भएको ठाँउमा गएर पढाउने भन्ने चुनौती शिक्षकमा थियो, गिरीको भनाइ छ ।
हल्दीबारी गाँउपालिकाले अन्तर विद्यालय शिक्षक सरुवा कार्यन्वयनमा ल्याएपछि यसको प्रभाव अब स्थानीय अन्य पालिकाहरुमा समेत देखिने भएको छ । दमकमा नगरपालिकाले डेढ बर्ष अघि नै शिक्षा नियामवली ल्याएर पनि राजनीतिक दलहरुको विरोधका कारण कार्यन्वयनमा आउन सकेको छैन । यसको कार्यन्वयन गर्ने क्रममा विवाद हुँदा राजनीतिक दल र नगर शिक्षा समितिका पदाधिकारीबीच हालहालको अवस्था सिर्जना भएको थियो ।











