विष्णुप्रसाद पोखरेल भद्रपुर (झापा) । झापाको भद्रपुरस्थित जिल्ला कारागारमा रहेका कैदी तथा थुनुवाहरुमा अत्यन्त चिलाउने रोग दादको महामारी फैलिएको बताईएको छ । एकमहिना यता फैलिएको महामारी नियण्त्रणमा आउन सकेको छैन । अधिकाँशको गुप्ताङ लगायतका अप्ठेरो ठाँउमा दाद आएको समेत बताईन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कारागारका सिनियर अहेव बलदेव शाहका अनुसार ११ सयभन्दा बढि थुनुवा र कैदी रहेको यहाँ आधाभन्दा बढिमा दादको समस्या रहेको छ । ५ सयभन्दा बढिलाइ औषधि तथा मलम दिईएको छ तर पनि दाद नियण्त्रणमा आउन सकेको छैन, उहाँले भन्नुभयो । खचाखच रुपमा कैदी तथा थुनुवा बस्नुपर्ने बाध्यताले गर्दा यो महामारीको रुपमा फैलिएको समेत शाहले जनाउनु भयो ।

दाद आएको मानिसले सरसफाइ विशेष ध्यान दिनुपर्ने र सबै सामान आफुलेमात्र चलाउनु पर्नेमा यस्तो नहुँदा समस्या भएको छ, उहाँले भन्नुभयो । मलम लगाएपछि लगाउन्जेल ठिक हुन्छ फेरी आइहाल्छ यसले हामीलाइ हैरान बनाएको छ, शाहले भन्न्ुभयो । यस्तै अवस्था रहे कारागारभित्रका सबैलाइ दादको समस्या हुनसक्ने उहाँले जनाउनु भयो ।

जिल्ला कारागारका जेलर राजेन्द्र निरौलाका अनुसार कारागारभित्र छालाको रोग अर्थात दादको समस्या भएको थाहा पाएपछि छाला रोग विशेषज्ञ ल्याएर नै जाँच तथा औषधि प्रदान गरिएको छ । जाँच र औषधि प्रयोग भएपनि यो नियण्त्रणमा आउन सकेको छैन, उहाँले भन्नुभयो । यसलाइ नियण्त्रणमा लिनका लागि आवश्यक छलफल र परामर्श भने भईरहेको उहाँले बताउनु भयो ।

गर्मिका कारण दैनिक ५० देखि ६० जनासम्म विरामी पर्ने गरेको र अहिले विरामीलाइ ओसार्नका लागि गाडिको ब्यवस्थापन गरिएको समेत कारागारले जनाएको छ । एकपटकमा २० जनासम्मलाइ लैजान मिल्ने गरी गाडिको ब्यवस्थापन गरेका छौ र यसबाट केहि सहज भएको छ, निरौलाले भन्नुभयो ।

दाद अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । यो फङ्गस (ढुसी) कारण आउँछ । यो यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ । सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल हुने बताइन्छ ।