विष्णुप्रसाद पोखरेल दमक । पर्यटन बर्ष सन् २०२० लाइ लक्षित गरेर झापाको गौरादहमा फरक किसिमको पार्क निर्माणको काम धमाधम रुपमा अघि बढेको छ । बालबालिकालाई लक्षित गरेर शुरु गरिएको पार्कको ७५ प्रतिशतभन्दा बढि काम पुरा भएको जनाईएको छ । ३ कठ्ठा जमिनमा निर्माणाधिन रहेको ‘लायन्स सेन्टिनियल चिल्ड्रेन पार्क’ नामकरण गरिएको र पर्यटन बर्षभित्र नै यसलाइ सञ्चालनमा ल्याइने लायन्स क्लव अफ दमकका संस्थापक अध्यक्ष डा. तिलक खनालले बताउनु भयो ।

बालबालिकालाई आकर्षित गर्न २५ फिट उचाईको सगरमाथाको अग्लो प्रतिमूर्ति बनाइन शुरु गरिएको छ । यहाँ आकर्षक झर्ना पनि रहनेछ । ठ्याक्कै सगरमाथाजस्तै नै अनुभुत गराउने हाम्रो उदेश्य छ, खनालले भन्नुभयो । सगरमथा रसाएर आएको पानीलाइ झर्नाको रुप दिने र त्यो पानी पोखरीमा आएर बालबच्चाहरुका लागि स्विमिङ पुल बनाइने पनि डा. खनालले जनाउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स क्लव अफ इन्टरनेशनलका जोन चियरपर्सन भुपाल कट्वालका अनुसार लायन्स क्लव अफ इन्टरनेशनल १ सय बर्ष पुगेको उपललक्ष्यमा यसको सम्झना बनाउन लागिएको र यसमा प्रदेश सरकार र स्थानीय सरकारको ठुलो सहयोग रहेको छ । सगरमाथा मुनी गुफा बनाइने र यहाँ भित्र शान्तिको प्रतिक बुद्धको मूर्ति राखिने पनि उहाँले बताउनु भयो । एकै ठाँउमा सगरमाथादेखि गुफासम्मको अवलोकलन गर्न बालबालिकाले पाउनेछन् ।

करिब ५० लाखको लागतमा बन्ने पार्कमा अहिलेसम्म ३५ लाख रुपिया खर्च भइसकेको बताईएको छ । एक नम्बर प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १९ लाख, आन्तरिक स्रोतबाट ८ लाख, नगरपालिका तथा वडा कार्यालयबाट ६ लाख रुपिया प्राप्त भइसकेको लायन्स क्लव अफ गौरादहका अध्यक्ष जीबन राईले बताउनु भयो । सहयोग जुट्ने क्रममा पनि जारी छ र निर्माण कार्य पनि तिब्र रुपमा भइरहेको छ, उहाँले भन्नुभयो ।

चिल्ड्रेन पार्कमा बालबालिकाहरुका लागि आवश्यक रमाइलो गर्ने सामाग्रिहरु अब राख्न शुरु गरिने पनि बताईएको छ । भौतिक संरचना निर्माण सकिनसाथ पार्कले पार्कको रुप लिन थाल्ने राइले जनाउनु भयो । जिल्लाका धेरै ठाँउमा पार्कहरु भएकाले यहाँको पार्कलाइ फरक बनाउन खोजिएको राइको दाबी रहेको छ ।

लायन्स लिडर अजय अग्रवालका अनुसार यस पार्कका लागि लायन्स क्लव अफ इनटरनेशनल ३२५ ए वानबाट सहयोगको प्रतिबद्धता रहेको जनाउनु भयो । यसका लागि पहल भइरहेको पनि उहाँले जनाउनु भयो । आश्वसन अनुसार रकम नआएको भन्दै सदस्यहरु निराश बन्दै आएको अवस्थामा उहाँले यस्तो बताउनु भयो ।