तिहारको पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन भाइटीका पर्छ । भाइटीका पर्व दिदीभाइको पवित्र प्रेमको प्रतीक हो ।
यो दिन दिदीबहिनीको घरमा गएर भोजन गर्दा दाजुभाइको उमेर बढ्ने मान्यता छ । त्यस्तै दाजुभाइलाई भोजन गराएर दिदीबहिनीले पनि सुखसमृद्धि पाउने मान्यता पनि छ ।
धर्मग्रन्थहरूका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्नो घरमा दाजु यमराजलाई बोलाएर सत्कारपूर्वक भोजन गराउनुभएको हो । त्यसैले पनि आजको दिनलाई यमद्वितीया भन्ने चलन छ ।
यमुनाको सत्कारबाट प्रसन्न भएका यमराजले यस्तो वर दिएका थिए : आजको दिन यमुनामा स्नान गरेर यमराजको पूजन गर्ने मानिसले यमलोक देख्नुपर्दैन ।
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । हुन त बिहान १० बजेदेखि दिउँसभरि नै टीकाको साइत छ ।
पूजनविधि शुरूमा दीप, कलश र गणेशको स्थापना गर्नुपर्छ । त्यसपछि दिदीभाइ मिलेर यमराज, चित्रगुप्त, यमुना र यमदूतहरूको पूजा गरेर अर्घ्य दिनुपर्छ । अनि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ ।
यो मन्त्र पढ्दै यमराजको प्रार्थना गर्नुस् :
धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किंकरैः सार्द्धं सूर्यपुत्र नमोस्तुते ।।
त्यसपछि दाजुभाइलाई बीच आसनमा राखेर दूबोले तेलको घेरा बनाएर तीनचोटि घुम्नुपर्छ । अनि ढोकाको छेउमा लगेर ओखर फोर्नुपर्छ ।
दाजुभाइलाई सप्तरंगी टीका लगाउनुपर्छ । टीका लगाएपछि उपहार दिनुपर्छ । किस्तीमा सजाइएका ओखर, कटुस, दही लगायतका वस्तु खुवाउनुपर्छ । अनि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र वस्त्र उपहार दिनुपर्छ ।
त्यसपछि विसर्जन गर्दै पूजा टुंग्यानुपर्छ ।
यसको लामो विधि पनि छ । यहाँ भने संक्षिप्त विधि मात्र दिइएको हो ।
भाइटीकामा मृत्युदेव यमराज र यमुना अनि दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई पूजा गर्ने प्रचलन छ । तल लेखिएका मन्त्र पढेर पूजा गर्नुहोस् ।
यमराज प्रार्थना ऊँ त्वमेव वैवस्वत विश्वमूर्तिस्त्वमेव कालः कलनान्तरात्मा । त्वमेव मृत्युः पुरुषस्त्वमेव प्रसीद देवेश नमो नमस्ते ।।
यमुना प्रार्थना ऊँ यमस्वसुर्नमस्तेस्तु सूर्यपुत्रि नमोस्तु ते । लोकमातर्नमस्तेसतु नमस्ते विष्णुवल्लभे ।। वरदा भव मे नित्यं यमुने लोकपूजिते ।
यमदूत प्रार्थना ऊँ नमोस्तु यमदूतेभ्यो बलिनां ये महाबलाः । मनोनिलाक्रान्तवेगाः पाशमुद्गरधारिणः ।। मम सौख्यकराः सन्तु पीडयन्तु न मां क्वचित् । ममापचरितं सर्वं विस्मरन्तु दयालवः ।।
यमुनापरिचारिका प्रार्थना ऊँ पूजयामि नमस्तुभ्यं यमुनापरिचारिकाम् । क्षमस्व मम कल्याणि यमुनापरिचारिके ।।
दिदीबहिनीले दाजुभाइलाई गर्ने प्रार्थना ऊँ मार्कण्डेय नमस्तेस्तु नमस्ते महदायुषे । चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।। आयुः प्रद महाभाग सोमवंश समुद्भव । महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोस्तु ते ।। भ्रातस्तवानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् । प्रीतये यमराजस्य यमुनाया विशेषतः ।। यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात् । तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि ।। आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता । वाक्पटुत्वमजाड्यञ्च जायतां तव सर्वदा ।। दाजुभाइले दिदीबहिनीलाई गर्ने प्रार्थना ऊँ त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं त सरस्वती । त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।। आयुर्लक्ष्मीर्धनं धान्यं पाश्वादिकमरोगिता । सर्वं त्वदर्चनाद्दीप्तं भवेज्जन्मनि जन्मनि ।। पतिपुत्राधनैश्वर्यं सौभ्रात्रं जन्मजन्मनि । अक्षयं जायतां देवि धर्मराजप्रसादतः ।।










