झापा । झापाको बाह्रदशी गाउँपालिका – ३ निवासी रामकृष्ण उप्रेती बेपत्ता भएको ६० वर्षपछि काजक्रिया गरिएको छ । २०१६ सालमा ४० वर्षको उमेरमा भारतको आसाम जान्छु भन्दै घरबाट हिँडेका उप्रेती घर नफर्किएपछि उनको काज किरिया गरिएको हो ।
हिन्दु संस्कार अनुसार कात्तिक १६ गतेदेखि उनको विधिवत् रूपमा काज किरिया थालिएको हो । कुशको शव बनाएर घाग्रा खोलामा अन्त्येष्टि गरिएपछि छोरा वल्लव मणि उप्रेतीले काज किरिया गरिरहेका छन् ।
त्यस्तै उनका चार छोरीहरू मध्ये माइली कृष्ण माया र कान्छी पद्माले काज किरिया गरिरहेका छन् । उनकी श्रीमती अपमाया सहित दुई छोरीहरू जेठी विष्णु माया र साहिँली नरमायाको यसअघि नै मृत्यु भइसकेको वााह्रदशी गाउँपालिका – ३ कि जनप्रतिनिधि लक्ष्मी निरौलाले जानकारी दिइन् । उनी १९७६ सालमा जन्मिएका थिए ।










