विष्णुप्रसाद पोखरेल
दमक / पुर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपालको ईतिहासमा नै संविधान सभाबाट सबैभन्दा लचिलो र जनमैत्री संविधान बनेको भन्दै छोटो समयमा नै यो संस्थागत भएको दाबी गर्नु भएको छ । उहाँले अधिकारको लडाइ लड्नु पर्ने अवस्था सधैका लागि अन्त्य गर्दै विकास र सम्बृद्धिको ढोका खोल्न अब लाग्नु पर्नेमा जोड दिदै यस्तो दाबी गर्नु भएको हो ।
दमकमा शनिवार युथ नेटवर्क दमकले आयोजना गरेको बैसीं दुडुबको नवौ श्रृंखला अन्र्तगत ‘संविधान निर्माणको सकस’ शिर्षकमा आफ्ना भनाइ राख्दै संबिधान सभाका अध्यक्ष समेत रहनु भएका नेम्वाङले जनताले आफुद्धारा शाषित हुन पहिलो पटक संविधान सभामार्फत बनाएको संविधानको बिषयमा सधै वहस र चर्चा आवश्यक रहेको बताउनु भयो । यो सजिलो पटक्कै थिएन तर जनताको अगाडि कसैको केहि लाग्दैन भन्ने कुरा नेपालमा बनेको संबिधानले पुष्टि गर्छ, उहाँले भन्नुभयो ।
उहाँले देशको नाम नै परिवर्तन गर्ने देखि लिएर राष्ट्रिय झण्डाको बिषयमा समेत बहस भएको उल्लेख गर्दै यसलाइ चिर्दै सर्वमान्य संबिधान बनेको बताउनु भयो । संबिधान सभा मार्फत नेपालको संविधान सबैभन्दा लचिलो र फराकिलो बनेको छ, उहाँको भनाइ थियो । संविधान समझदारीको दस्तावेज भएको उल्लेख गर्दै यसलाइ आवश्यकता र औचित्यताका आधारमा संशोधन गर्न सकिने पनि बताउनु भयो । नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
यो संबिधान यति लचिलो छ की जसले पनि जतिखेर पनि शंशोधन गर्न सकिन्छ तर त्यसका लागि जनताको अभिमत जरुरी रहेको छ । जनताबाट अनुमोदित भएर आएर अपरिवर्तनिय बुदा बाहेक सबै शंशोधन गर्न सकिन्छ, नेम्वाङले जनाउनु भयो । जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्ने किसिमको संबिधान बनाएका छौ, उहाँले प्रष्ट पार्नु भयो ।
अबको ध्यय भनेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्यमा तीव्रगतिमा अघि बढाउनु रहेको भन्दै उहाँले सबै यसमा एकबद्ध हुनुपर्नेमा जोड दिनु भयो । असहमति र फरक विचारहरुलाइ सामधान गर्दै विकास र सम्बृद्धिको दिशामा लाग्न कसैको पनि अवरोध हुन्ु नहुनेमा उहाँको जोड रहेको थियो । जनतामाझ गएर आफ्ना कुरा राख्न र अभिमत लिनका लागि सबैलाइ बाटो खुला भएकाले विकास र सम्बृद्धिको बाधक कोहि हुनु नहुनेमा नेम्वाङको भनाइ रहेको थियो ।
कार्यक्रम युथ नेटवर्कका अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको थियो भने प्रदेश सभा सदस्य तथा स्थानीय पार्टीका नेता कार्यकर्तादेखि लिएर सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसैबीच नेम्वाङले झापाको दमकबाट इलामको चिसापानी जोड्ने दमक चिसापानी सडक निर्माण र यहाँ रतुवा खोलामा बनिरहेका पुलहरुको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । उहाँको निर्वाचन क्षेत्रमा पर्ने सडक निर्माणको कामको बिषयमा चासो पुर्वक जानकारी लिनु भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताउनु भयो । शुक्रबार साँझ उहाँ निर्माणाधिन सडकमा पुग्नु भएको थियो ।










