दमका डेंगु र भाइरलको प्रकोप कायमै रहेको पाईएको छ । चिसो बढ्दै गएपछि केहि कम भएपनि डेंगु रोग नियण्त्रणमा आइ नसकेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो सातामात्र यहाँका अस्पतालहरुको रेकर्ड अनुसार १२ जनामा डेंगु देखिएको छ भने नीजि क्लिनिकहरुमा जाँच भएको भए त्यसको तथ्याङ्क नगरपालिकासंग नरहेको बताइन्छ ।
दमक नगरपालिका स्वास्थ्य शाखाका बद्रि बरालका अनुसार साउन महिनायता अस्पतालमा आएर डेंगु भएको भनिएका बिरामीको संख्या ३ सय १० नाँघेको छ । यो हाम्रो नगरपालिकामा स्वास्थ्य शाखामा आएको आधिकारीक संख्या हो, उहाँले भन्नुभयो । अन्यत्र गएका र नीजि क्लिनिकहरुमा जाँच गरेको भने यहाँ समावेश नभएको उहाँको भनाइ छ ।
ज्वरो, रुघा लगायतका चिसो शुरु भएपछि लाग्ने सिजेनेवल रोगको प्रकोप पनि रहेकाले यसलाइ डेंगु हो कमी भनेर त्रसित हुने पनि गरेको पाईएकाले भ्रममा नपर्न र नजिकको स्वास्थ्य संस्थामा आएर जाँच गराउन उहाँको आग्रह रहेको छ । सरकारी तथा नीजि अस्पतालहरुमा जाँच गराएर प्रमाणित भएको अवस्थामा मात्र हामी डेंगु रोग भनेर भन्न सक्छौ अन्यथा यो पुष्टि हुन्न, उहाँले भन्नुभयो ।
यसैबिच इलाका प्रहरी कार्यालय दमकमा प्रहरी नायव उपरिक्षक सहित एकदर्जन भन्दा बढि प्रहरी पनि विरामी परेकाछन् । डेंगु र भाइरलका कारण एकैसाथ धेरै प्रहरी विरामी परेको आफुहरुलाइ पनि सूचना आएको बरालले जनाउनु भयो । हामी त्यहाँ स्वास्थ्यकर्मी सहितको टोली लिएर जानेछौ, उहाँले भन्नुभयो । सबैलाइ डेंगु रोग लागेको भनिएपनि त्यसको आधिकारीक पुष्टि भएको छैन, उहाँले भन्नुभयो ।
सरकारी जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालकी अध्यक्ष समेत रहनु भएकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार अस्पतालमा निशुल्क जाँच, परामर्श र उपचारको ब्यवस्था गरिएको छ । डेंगु रोग लागेका विरामीका लागि हामी निशुल्क उपचारको ब्यवस्था मिलाएका छौ, उहाँले भन्नुभयो । नीजि अस्पतालहरुमा पनि सकेसम्म निशुल्क र त्यो नभएपनि न्यूनतम सेवा शुल्क लिन आग्रह गरिएको उहाँले बताउनु भयो ।
स्वास्थ्यकर्मीहरुका अनुसार एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो । यसको संक्रमणमा सुरूवाती दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छ ।
संक्रमितमध्ये धोरै विरामीमा जटिल समस्या आउन सक्छ । रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुने र शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्ने बताईएकोछ ।










