विष्णुप्रसाद पोखरेल/ दमक । उपभोक्ता समितिमा बस्नका लागि स्थानीय राजनीतिक दलका पदाधिकारी, शिक्षक, सरकारी कर्मचारी र जनप्रतिनिधिले नै लुछाचुडि गर्न थालेपछि दमकमा उनिहरुलाइ समितिमा बस्न बन्देज लगाईएको छ । राजनीतिक दलका नगर अध्यक्ष तथा पदाधिकारीहरु उपभोक्ता समितिमा बस्ने र कागजपत्र नमिलाइ पनि रकम निकासा गर्न दवाव दिन थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको पाईएको छ ।
नगरपालिकाका अनुसार जनसहभागितामा हुने कामलाइ पारदर्शी र जवाफदेही बनाउनका लागि उपभोक्ताले लगानी गर्ने रकम अनिवार्य रुपमा नगरपालिकाको खातामा हाल्नु पर्ने पनि निर्णय भएको छ । नगरपालिकासंग पैसा लिने र उपभोक्ताको लगानी कागजमामात्र देखाएर कमसल काम हुने गरेको आरोप लाग्दै आएको थियो ।
राजनीतिक दलका पदाधिकारी तथा सार्वजनिक पद धारण गरेका ब्याक्तिहरुलाइभन्दा पनि त्यहाँको साच्चिकै उपभोक्ताहरुको नेतृत्वमा जोड दिईएको हो, नगरपालिकाको भनाइ छ । एकै ब्याक्ति वा परिवारको ब्याक्ति एकै समयमा एक भन्दा बढि उपभोक्ता समितिमा बस्न नपाइने पनि निर्णय भएको छ ।
कागजी रुपमा उपभोक्ता समितिले कामको जिम्मा लिने र फेरी उपभोक्ता समितिले निर्माण ब्यवसायीलाइ कामको जिम्मा दिने गरेको खुलेपछि यस्तो कार्यमा समेत नगरपालिकाले रोक लगाएको छ । कार्यपालिका सदस्य नविन बरालका अनुसार उपभोक्ता समितिले अब जिम्मा लिएपछि अरुलाइ कामको जिम्मा लगाउन नपाउने निर्णय भएको छ ।
उपभोक्ताले जिम्मा लिएको काम अन्य निर्माण ब्यवसायीलाइ जिम्मा दिई काम गराउन नपाउने हुँदा सोको प्रतिबद्धता सम्झौतामा नै हुनुपर्ने ब्यवस्था गरेका छौ, बरालले भन्नुभयो । उपभोक्ता समितिमा महिला सहभागितामा पनि जोड दिईएको छ । कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य र त्यसमा १ जना पदाधिकारी महिला बनाउनै पर्ने निर्णय भएको छ, बरालको भनाइ छ ।
यसभन्दा अघि उपभोक्ता समितिले कुनै पनि योजना निर्माण सकेपछि नगरपालिकालाइ हस्ताण्तरण गरेर जिम्मेवारीबाट पन्छने गरेपनि अब भने त्यस्तो गर्न नपाइने भएको छ । नगरपालिकाले संरक्षणको जिम्मेवारी पनि उपभोक्ता समितिलाइ नै दिने भएको छ । उपभोक्ता समितिको रेखदेखको जिम्मेवारीसंगै आयोजना सम्पन्न भएर हस्ताण्तरण गरिएपछि सोको संरक्षणको जिम्मेवारी उपभोक्ता समितिले नै लिनुपर्छ, कार्यपालिका सदस्य तारा अधिकारीले बताउनु भयो ।
उपभोक्ता समितिहरुले गर्ने कामको गुणस्तरीयतासंगै जवाफदेहिताका लागि नगरपालिकाको कार्यपालिका बोर्ड बैठकद्धारा यस किमिसको आचारसंहिता तथा कार्यदेश पास भएको पनि अधिकारीले जनाउनु भएको छ ।










