धरान उपमहानगरका मेयर तिलक राईले कर पुनरावलोकन गर्ने निर्णय गरेका छन्। बुधबार कार्यभार सम्हाल्दै राईले राजस्व र करको दर पुनरावलोकन गर्ने निर्णय सदर गरेका हुन्। उपमहानगरका प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले कर र राजस्व पुनरावलोकन गर्न विज्ञ सम्मेलित अध्ययन कार्यदल बनाउने प्रस्ताव कार्यपालिका बैठकमा लैजान गरेको प्रस्तावलाई मेयर राईले सदर गरेका हुन्।
अब केही समयपछि बस्ने नगरकार्यपालिका बैठकमा कर घटाउने प्रस्ताव लगिने मेयर राईले बताए। ‘करलाई व्यवहारिक र वैज्ञानिक बनाउने प्रस्ताव सदर गरेको छु,’ उनले भने, ‘कर पुनरावलोकन गर्न राजनीतिक दलबाट पनि सहयोग मिल्नेछ।’
नगरवासी र राजनीतिक दलको भावनाअनुसार कर पुनरावलोकन गरी कार्यान्वयनमा ल्याइने मेयर राईले बताए। ‘स्थानीय सरकारमा पक्ष र प्रतिपक्ष हुँदैन,’ उनले भने, ‘कुनै पार्टी विशेष र व्यक्तिगत कुनै निर्णय हुँदैन। नगरवासीको हितमा हुने गरी सबै निर्णयहरू हुनेछन्।’
उनले कर्मचारीलाई क्रियाशीलताका साथ काम गर्न पनि आग्रह गरेका छन्। मत दिएर जिताउने नगरवासीलाई धन्यवाद दिएका उनले आफ्नो जित सबैको जित भएको पनि बताए। ‘यो सबै दलको जित हो, नगरवासीको जित हो,’ उनले भने, ‘अब सबै एक भएर विकास निर्माणका काम गर्नुपर्छ।’ सेतो पाटि बाट साभार










