विष्णुप्रसाद पोखरेल/ दमक । झापाको चन्द्रगढी विमानस्थललाइ अन्तराष्ट्रिय उडान सहितको क्षेत्रिय बिमानस्थलको रुपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजना अनुसार काम शुरु भएको समेत बताईएको छ । विमानस्थलको स्तरउन्नती र विकासका लागि कम्तिमा थप १ सय बिगाह जमिन आवश्यक पर्ने भन्दै यसको ब्यवस्थापन जरुरी भएको भन्दै त्यसको ब्यवस्थापनमा जोड दिईएको छ ।
भद्रपुर नगरपालिकास्थित चन्द्रगढी विमानस्थलको स्तरउन्नतीका लागि भइरहेको काम र यसको गुरुयोजनाको बिषयमा मंगलवार झापाको विर्तामोडमा छलफल भएको छ । गुरुयोजना सार्वजनिक सहितको छलफलमा सहभागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागि छलफलमा यस विमानस्थललाइ सुविधासम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाउनु भयो ।
मुलकभरका विमानस्थलहरु अहिले स्तरउन्नती भइरहेको जनाउदै यसमा यो पनि परेको उहाँले जानकारी दिनु भयो । जग्गा अधिग्रहण लगायतका बिषयमा भएका समस्याहरु हल गरेर सबै यसमा लाग्नु पर्छ, उहाँले भन्नुभयो । विमानस्थलको स्तरउन्नती र विकासले यस क्षेत्रको बिकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उहाँको आग्रह रहेको थियो ।
मन्त्री भट्टराइले आगामि दश बर्षभित्रमा नेपालको नागरिकउड्यन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गर्नु भएको छ । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरउन्नती र विकासका लागि जग्गा ब्यवस्थापन सबैभन्दा महत्वपुर्ण पाटो भएको बताउनु भयो । उहाँले गुरुयोजना अनुसार काम गर्नका लागि जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
झापा कारागार, जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी कार्यालयहरु रहेको स्थान बिमानस्थलका लागि आवश्यक हुने उहाँले जनाउनु भयो । यसभन्दा अघि नेपाली सेनाको ब्यारेक समेत हटाउन बारम्बार प्रयास हुँदै आएको छ । केहि सरकारी महत्वपुर्ण संरचनाहरु अहिले विमानस्थल विस्तारका लागि बाधक बन्न सक्ने भएकाले यसको ब्यवस्थापन गर्न आवश्यक छ, पोखरेलले भन्नुभयो ।
अन्तराष्ट्रिय स्तरको बिमानस्थल बनाउनका लागि अहिलेको रन वे लाइ बढाउने, नयाँ सुविधा सम्पन्न टर्मिनल भवन निर्माण, जहाज पार्किङ स्थल विस्तार, विमानस्थल आवतजावत सहजताका लागि सडक निर्माण लगायतका कामहरु गुरुयोजनामा समेटिएको सो अवसरमा जानकारी गराईएको थियो । यसका लागि चार अर्ब, २० करोड लागत लाग्ने गुरुयोजनामा उल्लेख रहेको छ ।
नागरिक उड्डयन प्राधिकरण चन्द्रगढीका प्रमुख पुर्ण चुडालका अनुसार यहाँबाट भारतको कलकत्ता, बंगालादेश र भुटानको उडान सम्भावाना रहेको छ । केहि समयपछि नै चन्द्रगढी विमानस्थलबाट क्षेत्रिय उडान शुरु हुने र पोखरा उडानका लागि आवश्यक तयारी पुरा भएको उहाँको भनाइ थियो ।










