केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको छ। जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस प्रणालीका कारण आज (मंगलबार) नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
बुधबार देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना छ। उक्त प्रणालीका कारण बुधबार र बिहीबार देशभर बदली भई तापक्रममा गिरावट आई देशैभर चिसो बढ्ने विभागले जनाएको छ ।
साथै यस प्रणालीका कारण बुधबार र बिहीबार देशका पश्चिमी भूभागका धेरै स्थान र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
महाशाखाले विशेष बुलेटिन नै जारी गर्दै उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र तापक्रममा गिरावट पनि हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारणलगायत सबैमा अनुरोध गरेको छ ।
माैसमविद्का अुनसार वर्षा याममा पूर्वी र हिउँद याममा पश्चिमी वायु चल्छ। यस हिसाबले अहिले हिउँदको समयमा पश्चिमी वायु जहिले चलिरहेको हुन्छ। खासमा भित्रिने भनेको चाहिँ यस वायुबाट विकास हुने पश्चिमी न्यून चापीय प्रणाली हो।










