काठमाडौं । बुधबार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज रातिबाट मौसम खराब हुने भएको छ ।

रातिबाट देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हिमपात हुनुका साथै थोरै ठाउँमा भारी हिमपातको संभावना रहेको छ ।

साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का वर्षा र केही स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ । देशको पूर्वी भुभागमा बिहिवार आंशिक देखि सामान्य बदलि भई एक दुई स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।