प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा फोहोरलाई मोहोर बनाउने परियोजना सुरु भएको छ । दमकमा दैनिक ४० टन फोहोरबाट ग्याँस उत्पादन गर्ने उद्योग स्थापना हुन लागेको हो ।

‘दमकको फोहोरबाट अब ग्याँस उत्पादन हुनेछ, सो ग्याँसबाट १५ सय परिवारलाई खाना पकाउन सकिन्छ’– दमकका मेयर रोमनाथ ओलीले सनराइज खबरसँग भने । फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सम्झौतापछि मेयर ओलीले भने– ‘उत्पादन भएको ग्याँस खाना पकाउन प्रयोग गर्ने कि सवारी साधानमा प्रयोग गर्ने भन्ने कार्ययोजना बनाउँदैछौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग मिलेर फोहोरबाट उर्जा उत्पादन गर्ने उद्योग सुरु गर्न लागेको हो । परियोजना निर्माण नेक्स्ट एरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले संयुक्त रुपमा गर्न लागेका हुन् । त्रिपक्षीय सम्झौता सम्पन्न भएपछि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भने– ‘४० टन क्षमताको यो परियोजनाबाट एक वर्षभित्र ग्याँस उत्पादन हुन्छ । यसबाट दैनिक एक हजार ८४ केजी ग्याँस उत्पादन हुनेछ ।’

परियोजना निर्माणको कूल लागत करिब १५ करोड रुपैयाँ रहेको छ ।

विश्व बैंक समेतको सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्धारा सञ्चालित नवीकरणीय उर्जा विस्तार कार्यक्रम अन्र्तगत कार्यान्वयन हुने यो परियोजनाको कूल लागतको ६० प्रतिशत रकम परियोजना निर्माणकर्ता कम्पनीद्धयले ब्यहोर्नेछन् । बाँकी ४० प्रतिशत रकम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने छ । परियोजनाका लागि आवश्यक जग्गा दमक नगरपालिकाले दिने भएको छ । परियोजना निर्माण भएपछि २० वर्षसम्म निर्माणकर्ताले सञ्चालन गरेर त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

आयोजना निर्माणकर्ता कम्पनीका अध्यक्ष युवराज घिमिरेले भने– ‘नवीकरणीय उर्जा उत्पादन र प्रयोगलाई अब सबै नगरहरुले उच्च प्राथमिकता दिनुपर्छ ।’

दमकका मेयर रोमनाथ ओलीले दमकलाई हरित र स्वस्थ नगर बनाउने अभियान चलाइरहेका छन् । पूर्वी नेपालमा दमकलाई नमूना नगर बनाउने अभियान अन्र्तगत फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना बनाउन लागिएको मेयर ओलीले बताए ।