हेटौंडा । मकवानपुर प्रहरीले गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई पक्राउ गरेको छ । बुधबार बिहान १ बजेतिर हेटौंडा–११, थानाभर्‍याङमा गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिं राठौरले बताउनुभयो ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको उपरीक्षक राठौरले बताउनुभयो । मकवानपुरको मनहरी क्षेत्रबाट लागूऔषध लिएर आइरहेको सवारीलाई हेटौंडा–१९ का इलाका प्रहरी कार्यालय नेवारपानी र लेवट प्रहरीले नियन्त्रणमा लिन नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभर्‍याङमा नियन्त्रणमा लिन खोज्दा भागेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीलाई देखेपछि भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा एक महिला र दुई पुरुष रहेका छन्। भारतीय गाडीमा एक महिलालाई बिरामी बनाएर राखिएको र एकजना बिरामी कुरुवा बनेर लागूऔषध तस्कर भइरहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको राठौरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल सवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । कारबाट करिब ३० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको भ्यानलाई बसले दियो ठक्कर

लागूऔषध तस्कर पक्राउ गरेर हेटौंडा–११, थानाभर्‍याङबाट हेटौंडातर्फ आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी भ्यानलाई बसले ठक्कर दिएकाे छ । बसकाे ठक्करबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित पाँच जना प्रहरी घाइते भएका छन् ।

प्रहरी भ्यानलाई काकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना५ ख ५५८२ नम्बरको बसले ठक्कर दिँदा प्रहरी निरीक्षक भण्डारीको टाउकोमा चोट लागेको छ भने अन्य सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।