भद्रपुर । भारतीय डाकाको त्रासमा रहेका दक्षिणी झापावासीलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको भवन धमाधम बन्न थालेको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राप्त बजेटबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट घेरावारि र पृथ्वीनगरमा नवनिर्मित भवनको आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल, प्रदेश १ बराह बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले उद्घाटन गरे। प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको उपस्थितिमा सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले बिओपी पृथ्वीनगरमा निर्मित तीनवटा भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले प्रदेश सरकारको बजेटबाट पूर्व क्षेत्रका सीमा नाकामा बिओपी भवनको धमाधम निर्माण भइरहेको बताए। बिओपी निर्माणमा जग्गा प्राप्तिको समस्या रहेको बताउँदै उनले भने, ‘बिओपी निर्माण गर्नलाई स्थानीयले जग्गा उपलब्ध गराउनु भएमा सीमामा १०-१० किलोमिटरमा बिओपी स्थापना गर्न सकिन्छ।’ बिओपी स्थापनाले सुरक्षाको प्रत्याभूति स्थानीय नागरिकले गर्न पाउन सकेको उनको भनाई छ ।
भारतीय डाका समूहको आक्रमणबाट पृथ्वीनगरको हिमालीमा एक व्यक्तिको मृत्यु भएपछि स्थानीयले सशस्त्र प्रहरीको माग गरे अनुसार साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर १ का समाजसेवी देवीबहादुर कार्कीले निःशुल्क ५ कट्टा र स्थानीय नागरिकको आर्थिक सहयोगमा ५ कट्टा गरी १० कट्टा जमिनमा २०७३ साल असार २९ गते सशस्त्रको एलआरपी पोस्ट स्थापना गरिएको थियो। २०७५ पुस ४ गते बिओपीको रूपमा स्तरोन्नति भएको थियो। बिओपीमा स्तोरन्नती भएपछि प्रदेश सरकारको ६८ लाख ५७ हजार ६ सय ८२ रुपैयाँमा निवास, कार्यालय, आइरन गेट र ५६ लाख ४५ हजारमा बाउण्ड्रीवाल, फेन्सिङ वायर र ड्युटी पोस्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक कमल थानी जानकारी दिए।
उद्घाटन कार्यक्रममा जग्गादाता देवीबहादुर कार्कीलाई कदर पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा १ नम्बर वडा अध्यक्ष दशरथ प्रधान, ३ नम्बर वडा अध्यक्ष कमला थुलुङ, नेकपाका नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेस मनप्रसाद कोइरालालगायतले मन्तव्य राखेका थिए। उता, पाँचजना जग्गादाताले आठ कट्टा जमिन उपलब्ध गराएपछि २०७० साल चैत २३ गते घेरावारिमा स्थापना भएको सशस्त्रको बिओपीमा एक करोड ६४ लाख ७१ हजारमा निवास, अफिस, तीन वटा ब्यारेक, भान्सा र ४४ लाख ७८ हजार ८ सयमा भान्सा भवन, बाउण्ड्रीवाल, फेन्सिङ वायर र डियुटी पोस्ट निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटका सशस्त्र प्रहरी निरीक्षक पशुराम थापाले जानकारी दिए। यसअघि बाह्दशी १ बाघडुब्बा भवन उद्घाटन गरिसकेको छ।










