करिब साढे १० बजेको थियो। एक युवक हस्याङफस्याङ गर्दै शुक्रबार साइबर अपराध अनुसन्धान सेल टेकुमा आए।

त्यहाँ उनले साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धान गर्दै आएकी अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रूपा थापालाई भेटे। नातामा साली पर्नेलाई एकजना युवकले फेसबुकमा ‘फेक आइडी’ बनाएर म्यासेन्जरमा अश्लील बोल्दै तथानाम गाली गलौज गरेको बताए। सम्झाउँदा आफूलाई पनि उल्टै गालीगलौज गरेको भनेर उनको भनाइ थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी निरीक्षक थापाले ‘पीडित आफैं आएर किटानी जाहेरी दिनुपर्ने हुन्छ’ भनेपछि उनी फर्किए।

लगत्तै एक जोडी महिला आइपुगे। काठमाडौंको मूलपानी रहेछ, दुवै जनाको घर। ती दुईजना महिलामध्ये एक जनाचाँहि साइबर अपराधअन्तर्गत उजुरी दिन आएकी रहिछिन् आफ्नै श्रीमानविरुद्ध।

फेसबुकमै चिनजान गर्ने अनि मायामा परेर ‘गोप्य अङ्ग’को तस्बिर खिच्दै आदानप्रदान गर्ने तर अन्तिममा आफन्तलाई पठाएर ‘ब्ल्याकमेल’ गरेको घटना पनि प्रहरीमा आइपुग्ने गरेका छन्। केही छिनपछि उजुरी दिन तयारी गरिन्। पछिपछि श्रीमान् पनि आएका रहेछन्। श्रीमानले चाँहि ‘मेरो गल्ती भो, हामी मिल्छौं’ भने। श्रीमानले एक युवतीसँग मिलेर श्रीमतीविरुद्ध म्यासेन्जरमार्फत् श्रीमतीकै दाजुहरूलाई ‘ब्ल्याकमेल’ गरेको ती महिलाले बताइन्। प्रहरीका अनुसार साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका अधिकाँश अभियुक्तहरूले सामाजिक सञ्जाल फेसबुकमा ‘फेक आइडी’ बनाएको पाइएको छ।

कतिपय अभियुक्तहरूले भने अरूकै नाम राखेर फेसबुक आइडी बनाउने त कतिपयले चाहिँ आइडी ‘ह्याक्ड’ गरेको पनि पाइएको प्रहरीले जनाएको छ।

त्यसो गरेपछि अश्लील भिडियो, फोटो र सन्देश पठाउने गरेको देखिन्छ। यस्ता सामग्री पीडित र पीडितका आफन्तलाई पठाउँदै मानसिक यातना दिने, गाली बेइज्जती गर्ने र धाकधम्की दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

केहीले भने शारीरिक सम्बन्ध राख्दा नग्न फोटो वा भिडियो खिच्ने र सम्बन्धमा फाटो देखिएपछि युवती वा महिलाको आफन्त र साथीहरूलाई म्यासेन्जरमा पठाइने दिने गरेको पाइएको साइबर अपराध अनुसन्धान सेल रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता मुकेशकुमार सिंह बताउँछन्।

यससँगै फेसबुकमै चिनजान गर्ने अनि मायामा परेर ‘गोप्य अङ्ग’को तस्बिर खिच्दै आदानप्रदान गर्ने तर अन्तिममा आफन्तलाई पठाएर ‘ब्ल्याकमेल’ गरेको घटना पनि प्रहरीमा आइपुग्ने गरेका छन्।

फेसबुकमा फेक आइडीको स्थिति

साइबर अपराध अनुसन्धान सेल, टेकुका अनुसार साइबर अपराधमा मुख्यतः यस्ता ‘ट्रेन्ड’ देखिएका छन्ः

फेक आइडी बनाइ अश्लील फोटो, भिडियो र सन्देश सामाजिक सञ्जालमा राख्ने र म्यासेन्जरमा पठाउने। नाङ्गो शरीरमा घाँटीदेखि माथिको भाग जोडेर फेसबुकमा राखी गालीगलौजसँगै चरित्र हत्या गर्दै धाक–धम्की पनि दिने। पिरतीमा रहँदा शारीरिक सम्बन्ध पनि राख्ने र सम्बन्धमा दरार आएपछि त्यसबेला खिचेको फोटो र भए अश्लील भिडियो सार्वजनिक गरेर नैतिक जीवनमा नोक्सानी पुर्‍याइदिने। फेसबुकमा चिनजान गर्ने अनि अत्यन्तै नजिक भएपछि गोप्य अङ्ग आदान–प्रदान गर्ने र अन्तिममा सार्वजनिक गर्नेे। कसैको नाममा फेसबुक आइडी बनाउने वा आइडी ह्याक्ड गरेर ठगी गर्ने। उच्च पदासीन व्यक्तिको फोटो र नाम राखेर फेसबुक आइडी खोल्ने र युवतीलाई प्रभावमा पार्ने। अश्लील फोटोसँग कुनै व्यक्तिको अनुहार जोडेर फेसबुकमा भाइरल बनाइदिने।