काठमाडौँ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा जानाजानी गल्ती गर्नेलाई राज्यसत्ताको समर्थनमा उन्मुक्ति दिइएको र परिबन्दमा पर्नेलाई फसाइएको आशंका गरेका छन् ।
ललिता निवासको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको एकदिनपछि बिहीबार सामाजिक संजाल ट्विटरमार्फत भट्टराईले अभिव्यक्ति सार्वजनिक गरेका हुन्।
'देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य छ। तर, प्रथमदृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ। हाम्रा ऐन, कानुन र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ। मन्त्री दोषी तर प्रधानमन्त्री निर्दोष देखिँदा मैले पनि असहजता महसूस गरेको छु,' उनले लेखेका छन्, 'सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।'
भट्टराईले कसले सत्ताको छहारी पायो र को परिबन्दले फस्यो भन्ने केही लेखेका छैनन्। तर, उनको आशय नेकपाका महासचिव विष्णु पौडेललगायतले सत्ताको छहारी पाएर उन्मुक्ति पाएको भन्ने देखिन्छ। पौडेलले ललिता निवासको जग्गा छोराको नाममा किनेका थिए। उनले उक्त जग्गा फिर्ता गर्ने भनेपछि अख्तियारले मुद्दा नचलाउने भएको छ। त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले पनि उक्त ठाउँको जग्गा फिर्ता गर्ने बताएपछि मुद्दाबाट उन्मुक्ति पाएका छन्।
आफू पनि दोषी भए अनुसन्धानको दायरामा पर्न तयार रहेको भट्टराईको अभिव्यक्ति छ। उनी प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषदबाट २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश गरेको थिएन। कान्तिपुर बाट साभार गरिएको










