भद्रपुर । भारतीय नागरिकको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) काटेर परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा झापा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका २ चारपाने बस्ने १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । आरोपी दुई जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा शुक्रवार बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।
प्रहरीले आरोपीको साथबाट घटनामा प्रयोगमा भएका संवेदनशील अङ्ग काट्ने चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड, रगत लागेको टि-सर्ट लक्ष्मणको साथबाट बरामद भएको थियो । दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने प्रहरी उपरीक्षक कोइरालाले बताए ।
मादक पदार्थले लियो ज्यान
भारत विहार राज्यस्थित अररिया, हसन मोहल्ला घर भई हाल बिर्तामोड २ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको हत्यापछि घटनालाई ढाकछोप गर्न परालको कुन्यूमा लगेर जलाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार सोमबार बेलुका स्थानीय बुद्धिमाया राईको मदिरा पसलमा रक्सी पिउन भारतीय नागरिक शेख गएका थिए । उनी बिर्तामोडमा मजदुरी पेसा गर्दै आइरहेका थिए । मदिरा पसलमा रक्सी पिउँदै गरेको अवस्थामा त्यही पसलमा युवक लक्ष्मण र करण पनि रक्सी पिउन गए । उनीहरू पनि पेसाले मजदुर हुन् । रक्सी पिउने क्रममा शेखसँग लक्ष्मण र करणको वादविवाद हुँदै झगडा भएको थियो । उनीहरू बिच सामान्य चिनजान मात्र थियो ।
झगडाको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेका थिए । मदिरामा लट्ठ लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
‘शेखको टाउकोमा ढुङ्गा र इट्टाले प्रहार गरी हत्या गर्यो,’ उनले भने, ‘आमाको नाम जोडेर गालीगलौज गरेकोले त्यसपछि उनीहरूले शेखको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) काटेर फाले ।’ ‘खेतमा लगेर हत्या गरेपछि उनीहरूले लिङ्ग खेतमै फालिदिए, शवलाई घिसारेर उनीहरूले सुरुमा नजिकैको नालामा फाल्न खोजे, तर, त्यहाँ सम्भव नभएपछि शवलाई खेतमै रहेको परालको कुन्यूभित्र हालेर जलाइदिए, उनले भने ।’ मृतक शेखको लिङ्ग काटिएको हुँदा प्रहरीले अनैतिक सम्बन्ध घटनाको आशङ्का गरे पनि घटना मादक पदार्थ सेवनको कारणले घट्यो ।










