झापाको दमक ६ स्थित निर्माणाधिन पशुपति सेवा सदन(पशुपति मन्दिर )मा यहि फागुन १ गतेदेखि १० गतेसम्म श्रीमद महाभारत कथा प्रवचन तथा ज्ञान महायज्ञ हुने भएको छ । विगत २१ वर्षदेखि बर्सेनी आयोजना हुदैआएको महायज्ञलाई निरन्तरता स्वरुप यसवर्ष पनि महायज्ञको भव्य तयारी गरिएको आयोजक श्री सिद्ध कामेश्वर पशुपतिनाथ मुक्तिधाम समितिका अध्यक्ष नन्दी केशर अधिकारी जानकारी दिए । यसअघि १८ औ महापुराण सम्पन्न भईसकेका छन् ।

निर्माणाधिन पशुपति सदनमा सहयोग जुटाउन उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष अधिकारीले वताएका छन् । महायज्ञ सम्पन्न गर्न अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति,धनबहादुर श्रेष्ठको संयोजकत्वमा निर्देशन,गोविन्द बस्नेतको संयोजकत्वमा अर्थ,चन्द्रा बस्नेतको संयोजकत्वमा भजन किर्तन,गणेश बस्नेतको संयोजकत्वमा अनुगमन,हरि कार्कीको संयोजकत्वमा खाद्यान,राम थापाको संयोजकत्वमा व्यवस्थापन ,गञ्जवहादुर दाहालको संयोजकत्वमा प्रचार र पदम बुढाथोकीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमितिहरु गठन गरिएको महायज्ञ आयोजक समितिका सचिव मेघराज तिम्सीनाले वताए । त्यस्तै,महायज्ञमा स्थानीय पशुपति आध्यात्मिक महिला समूहले पूजा तथा दीप प्रज्वलन व्यवस्थापन र सत्य साई केन्द्र दमकले प्रसादी वितरणको जिम्मेवार दिईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महायज्ञ अन्तगर्त फागुन १ गते विहान कलश तथा कन्यासहित शोभा यात्रा तथा उद्घाटन , पूजापाठ, दिउँसो देखि दैनिक कथा प्रवचन तथा प्रतियोगितात्मक भजन किर्तनको समेत आयोजना हुने जनाईएको छ । प्रतियोगितामा उत्कृष्ठ हुने समूहलाई क्रमशः १५ हजार,५ हजार र सान्तवना स्वरुप नगद ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अधिकारीले वताएका छन् । यसैगरि महायज्ञमा उपस्थित हुने श्रद्धालु भक्तजनहरु मध्ये ८० वर्ष माथिका ज्येष्ठहरुलाई नदोहोरिने गरि अभिनन्दन समेत गरिने कार्यक्रम रहेको जनाईएको छ ।