झापा । झापाको गौरीगञ्ज र धुलाबारीमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका ३ स्थित इलाका प्रशासन कार्यालयसँगै रहेको प्रार्थना होटेलमा ग्यास सिलिन्डर चुहावट भई आगलागी भएको छ। पाथीभरा ग्यासको नयाँ सिलिन्डर ट्याङ्की खोलेर सल्काउने साथ होटेलमा आगलागी भएको होटेल सञ्चालक दुर्लभ मान श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट करिब १२ देखि १५ लाख बराबरको क्षति भएको उनले बताए । बुधवार बेलुका ६ बजेको समयमा भएको आगलागी इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीयवासी र गौरादह नगरपालिकाको बारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । त्यस्तै मेचीनगरको धुलाबारी बजार नजिकै टिमाई खोला छेउमा एउटा घरमा आगलागी भएको छ । आगलागीबाट घरमा जलेर खरानी भएको छ । राती करिब साढे १० बजे लागेको आगो मेचीनगर नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीबाट हुने क्षति विवरण आउन बाँकी छ ।










