नेपाल विद्युत प्राधिकरणले दमक, भरतपुर र पोखराको विद्युत वितरण प्रणाली भूमिगत बनाउने भएको छ । प्राधिकरणले राजधानीपछि उपत्यका बाहिरका मुख्य सहरको वितरण प्रणाली पनि भूमिगत बनाउने तयारी गरेको हो ।

ठूला सहरका मुख्य सडकको वितरण प्रणाली भूमिगत गर्न अध्ययन भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार वितरण प्रणाली दिगो, भरपर्दो र स्वचालित बनाउन यी सहरको वितरण लाइन भूमिगत गर्न लागिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘विद्युतको माग बढिरहेकाले वितरण प्रणालीको क्षमता बढाउनु पर्ने चुनौती छ ,’ उनले भने,‘ २० वर्षपछिको माग प्रक्षेपण गरेर भूमिगत लाइन निर्माण गरिने हुँदा माग व्यवस्थापन गर्न सहज हुन्छ ।’ बढ्दो माग व्यवस्थापन गर्न सहरमा ओभर हेड लाइन निर्माण गर्ने ठाउँ नै नभएकाले भूमिगत प्रविधिमा जानुपरेको उनले बताए ।

‘विकसित मुलुकको वितरण प्रणाली भूमिगत छ । हामीले पनि ठूला सहरमा यो प्रविधि अपनाउन आवश्यक देखिएको छ’ उनले भने । सुरुमा ठूला सहरका मुख्य सडकको वितरण लाइनलाई भूमिगत गर्ने तथा भित्री सडकका ओभरहेड लाइनलाई स्तरोन्नति गरेर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

भूमिगत वितरण लाइनलाई स्वचालित बनाउन ‘फिल्ड रिमोट टर्मिनल युनिट’ जडान गरिनेछ । स्वचालित वितरण प्रणाली नियन्त्रण गर्न नियन्त्रण कक्ष पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ । यी सहरको वितरण लाइन भूमिगत तथा स्वचालित बनाउन १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्राधिकरणले पहिलो पहिलो पटक राजधानीका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको प्रणाली भूमिगत बनाउन सुरु गरेको छ । बानेश्वर, कुलेश्वर, बालाजु, जोरपाटी र किर्तिपुर वितरण केन्द्रको प्रणाली पनि भूमिगत बनाउन बोलपत्र मुल्याङ्कन भइरहेको प्राधिकरणले जनाएको छ । अबको ४ वर्षभित्र काठमाडौं उपत्यकाको प्रणाली भूमिगत गरिसक्ने प्राधिकरणको लक्ष्य छ ।