विराटनगर : सुत्केरी र नवजात शिशुको मृत्यु भएको विषयलाई लिएर मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार दिउँसो तनावग्रस्त बनेको छ।
सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएको थियो। सुत्केरी व्यथाले च्यापेपछि रविनालाई सोमबार बिहान ६ बजे अस्पताल भर्ना गरिएको थियो। त्यसपछि बिहान १० बजे सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रूपमा छोरा जन्माएकी थिइन्। अस्पतालले मृत बच्चा जन्मिएको र त्यसपछि स्वास्थ्य अवस्था असामान्य बन्दै गएर आमाको पनि मृत्यु भएको जानकारी दिएको छ।
आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले घटना भएको भन्दै अस्पताल अगाडि अहिले नाराबाजी र प्रदर्शन गरिरहेका छन्। सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गर्दै आन्दोलित बनेका उनीहरूले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारवाही हुनुपर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन्।
अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। ‘अस्पतालबाहिर जम्मा भएको ठूलो भीडले नाराबाजी र प्रदर्शन गर्दै अस्पतालमा तोडफोडको प्रयास गरेको छ,’ उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर अप्रिय घटना हुनबाट रोक्ने काम भइरहेको छ।’ नेपाल प्रहरीका डीएसपी मानबहादुर राई र इन्सपेक्टर लेखनाथ दाहाल नेत्रृत्वको अलगअलग टोली प्रदर्शनस्थलमा परिचालित छन्।
रविनाका दाजु प्रह्लाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले रविनालाई वास्ता नगरेको बताए। ‘प्रसव पीडाले बहिनी छटपटाइरहँदा चिकित्सकले वास्ता नगरिकन नर्सको जिम्मा लगाइदिए,’ उनले भने, ‘सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदिनु भन्दा पनि मानेनन्।’ प्रह्लादले यहीँ हुन्छ भनेर रेफर नगरेको र चिकित्सकले वास्तै नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको गुनासो गरे।
‘रक्तश्राव नरोकिएसँगै बिहान ११ बजेबाट रविनाको अवस्था गम्भीर बनेपछि मात्रै चिकित्सकले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदिए,’ उनले भने, ‘त्यतिबेला ढिलो भइसकेको थियो।’ रेफर गरिदिएपछि रविनालाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। कोशीमा पनि उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल पुर्याइयो। नोबेल पुर्याएको केही बेरमै सुत्केरीलाई चिकित्सकले मृत घोषित गरेको प्रल्हादको भनाइ छ।
उनले जीवितै बच्चा जन्मिएको भए पनि चिकित्सकले मृत जन्मिएको भनेर वास्तविकता लुकाउने प्रयास गरिरहेको दाबी गरे। ‘चिकित्सकले वास्तै नगरेका कारण जन्मिएको आधा घण्टामा शिशुको मृत्यु भयो,’ उनले भने, ‘सुत्केरीको पनि अवस्था गम्भीर बनेर गएपछि मात्रै रेफर गरियो।’
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अशोक ठाकुरले सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव अत्याधिक भएर सुत्केरीको मृत्यु भएको बताए। ‘जन्मिनासाथ परीक्षण गर्दा बच्चाको मृत्यु भइसकेको थियो,’ उनले भने, ‘मृत बच्चा जन्मिएपछि सुरु भएको रक्तश्राव नरोकिएर आमाको पनि मृत्यु भयो।’ यकिन भइनसके पनि आमाको रक्तचाप कम हुँदै गएका कारण सुरुमै गाह्रो भएकाले जीवित बच्चा जन्मन नसकेको हुन सक्ने उनको भनाइ छ।
डा. ठाकुरले सुत्केरीको मृत्यु‘पोस्टपार्टन ह्याम्रेज’ का कारण भएको बताए। उनका अनुसार बच्चा जन्मिएपछि पाठेघरबाट पाँच सय मिलिलिटरभन्दा बढी रगत बग्नुलाई ‘पोस्टपार्टन ह्याम्रेज’ भनिन्छ। उनले बच्चा जन्माउने क्रममा पाठेघर फुटेकाले रक्तश्राव अत्याधिक भएको हुन सक्ने बताए। डा. ठाकुरका अनुसार ‘पोस्टपार्टन ह्याम्रेज’सँगै सुत्केरीलाई ‘एमनिओटिक फ्लुड एम्बोलिजम’ पनि भएको हुन सक्ने आशंका गरिएको छ। कुनै महिलालाई प्रसूति व्यथा लागेपछि बच्चाको वरपर जम्मा हुने पानी छुट्टिएर मुटु र फोक्सोतिर पुगेमा त्यसलाई ‘एमनिओटिक फ्लुड एम्बोलिजम’ भनिने जानकारी उनले दिए। बच्चाको वरपर जमेको पानी मुटु र फोक्सोमा पुगेमा शरीरका अंग ‘ड्यामेज’ गराइदिने र त्यसका कारण सुत्केरीको मृत्यु हुने उनको भनाइ छ।
डा. ठाकुरका अनुसार एकदमनै दुर्लभ मानिने र अचानक आउने यो समस्या २० हजार सुत्केरी मध्ये एक जनामा हुन सक्छ। यसले शरीरका अंग काम नलाग्ने बनाएपछि रक्तचाप कम हुँदै गएर अचानक श्वासप्रश्वासमा समस्या पैदा गराउने उनको भनाइ छ।
‘प्रसूति व्यथाले च्यापेपछि सामान्य अवस्थामै महिलालाई अस्पतालमा भर्ना गरिएको थियो। बच्चा जन्मिएसम्म अवस्था सामान्य नै थियो,’ डा. ठाकुरले, ‘तर अत्याधिक रक्तश्राव हुन थालेपछि औषधि उपचार थालेर रोकथामको प्रयास धेरै गर्दासमेत सम्भव भएन। अवस्था थप गम्भीर बन्दै गएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिए पनि सुत्केरीलाई बचाउन सकिएन।’ उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको बताउँदै शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए।
समस्या समाधानका लागि भनेर अहिले अस्पताल व्यवस्थापन समितिको बैठक बसिसकेको छ। तर बैठक र छलफलमा बस्न सुत्केरीका आफन्तले भने अस्वीकार गरेका छन्।
रविनाका श्रीमान मनु सरदार वैदेशिक रोजगारीका लागि एक वर्षदेखि कतारमा छन्। श्रीमतीको मृत्युको खवर सुनेपछि उनी नेपाल फर्किएका छन्। रविना र मनुका पहिलो सन्तान ७ वर्षका छोरा छन्। अन्नपूर्ण पोस्ट बाट साभार










