प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन आफ्नै जन्मघरमा मनाउँदै छन् । यसका लागि उनी आइतबार बिहानै तेह्रथुमको तीनसल्लेस्थित जन्मघरतर्फ लागिसकेका छन्। प्रधानमन्त्री ओलीले जन्मदिन मनाउने क्रममा युवा विद्यार्थीलाई कलम, डायरी र पाका महिला तथा पुरुषलाई टोपी, ज्याकेट, सारी र पछ्यौरी उपहार दिने भएका छन्।
‘बर्थ डे मनाउने परम्परागत शैलीलाई परिमार्जन दिन उहाँ (ओली)ले यस्तो तरिका अपनाउनुभएको हो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘युवा विद्यार्थीहरुलाई कलम र पाका महिला, पुरुषलाई टोपी, सारी र पछ्यौरा उपहार दिने कार्यक्रम छ।’
प्रधानमन्त्री ओलीले दुई हजार पुरुषलाई भादगाउँले टोपी र ज्याकेट, २ हजार ज्येष्ठ महिलालाई सारी र पछ्यौरी, दुई हजार विद्यार्थीलाई डायरी र कलम उपहार दिँदै छन् । यस्तै करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने कार्यक्रम पनि रहेको बताइएको छ ।
पाँचथरबाट तेह्रथुम
पाँचथरको यासोकमा तमोर लिफ्ट खानेपानी आयोजना र विद्युतको केन्द्रीय प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली जन्मघरतर्फ लाग्ने कार्यक्रम छ। पाँचथरको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, अर्थ तथा योजनामन्त्री इन्द्र आङ्बो, उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत पनि सहभागी हुँदै छन् ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद, अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री बीना मगर, ऊर्जामन्त्री वर्षमान पुन काठमाडौंबाट बिहानै त्यसतर्फ लागेका छन् । प्रधानमन्त्री ओलीले तेह्रथुमको सुकेपोखरीस्थित ढुंगेसाँघु सडकको शिलान्यास गर्ने र नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।
जन्मस्थल तिनसल्ले पुगेर त्यहाँका विभिन्न विकास पूर्वाधारको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम रहेकाले आठराई गाउँपालिकाले त्यहाँ आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
सानैमा छोडेका थिए जन्मघर
२००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा ओली जन्मिएका थिए । जन्मदिनकै छेको पारेर उनी आज बिहानै जन्मस्थल लागेका छन् । राजकीय भेटदेखि सरकार सञ्चालनका दैनिकीवीच नेकपा अध्यक्षका हिसाबले उनको दैनिकी यसै व्यस्त छ ।
तर जन्मदिन मनाउनकै लागि उनी जन्मस्थल नै किन जान लागेका हुन् ? यसको उत्तरभित्र ओलीका जीवनका विभिन्न आयाम समेटिएका छन् । नेपालको कम्युनिस्ट राजनीतिमा किशोरावस्थादेखि न सक्रिय थिए ओली ।
तेह्रथुम पहाडबाट समयक्रमसँगै झापाको पृथ्वीनगर झरेको ओलीको परिवार आर्थिक रुपमा विपन्न थियो । कारण उनले उच्च शिक्षा पाउन सकेनन् । ‘आमा सानैमा खस्नुभएकाले उहाँले राम्रो पालनपोषण पाउन सक्नुभएन,’ आलीलाई नजिकबाट बुझेकी झापा आन्दोलनका सहिद रामनाथ दाहाल पत्नी विश्वेश्वरा समझन्छिन्, ‘हाम्रो पनि पहाड तेह्रथुम भएकाले झापा बिर्तामोडस्थित हाम्रो घरमा उहाँ (ओली) हजुरआमाको साथमा आइराख्नुहुन्थ्यो ।’
रामनाथ दाहालकै घरमा आऊजाऊ बाक्लिएपछि क्रमशः ओलीले राजनीतिक चेतना पाउन सुरु गरे। रामनाथले पनि ओलीलाई विशेष माया गर्थे । त्यसपछि झण्डै चार दशकका विभिन्न राजनीतिक उतारचढाव पार गर्दै ओली देशको ४१ औं प्रधानमन्त्री बन्न सफल भए ।
प्रधानमन्त्री बनेपछि उनको दैनिकी अरु व्यस्त बन्नु स्वभाविक पनि हो । ‘उहाँ तीन वर्षअघि पारिवारिक भेटका लागि तेह्रथुमस्थित घर जानुभएको थियो । त्यसयता जन्मदिन मनाउनकै लागि घर गएको मलाई थाहा छैन,’ विश्वेश्वराले भनिन् ।
साथीहरूसँग भेटघाट
आफ्नो निक्कै व्यवस्त दैनिकीबाट समय निकालेर आइतबार ओली आफ्नो जन्मघर पुग्दैछन् । तीनसल्लेमा रहेको जन्मघरमा प्रधानमन्त्री ओली आइतबार मध्यान्न पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।
पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्य अस्थिर देखिए पनि आत्मविश्वासका साथ उनी दैनिक कामकारबाहीमा उत्तिकै सक्रिय छन् । उनका केही शुभचिन्तक तथा नजिकबाट चिन्नेहरुको आकलन छ– जीवनको उतराद्र्धमा आफ्नो गाउँ हेरूँ, विकासका केही नयाँ कार्यक्रम लैजाउँ भन्ने सोचले पनि उनी जन्मगाउँमा जन्मदिन मनाउन गएका हुन् ।
तीन महिना अघिदेखि तयारी थालिएको थियो
प्रधानमन्त्री ओली जन्मदिन मनाउन आउने भएपछि ३ महिना अघिदेखि नै तिनसल्ले क्षेत्रमा आवश्यक तयारी गरिएको थियो । जन्मघरमा केक काटेर शुभेच्छुक र पार्टी कार्यकर्ताहरुले शुभकामना आदानप्रदान गर्ने र आफन्तजन र साथीभाइसँग कुराकानी गर्ने कार्यक्रमसमेत छ । अघिल्लो साता एन्जियोग्राफी गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई पनि उत्तिकै ध्यानमा राखी जन्मदिनको कार्यक्रम बनाइँदै छ ।
घरछेउमै बनाइयो हेलिप्याड
प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन तीनसल्ले जाने भएपछि उनको जन्मघर छेउमै हेलिप्याड निर्माण गरिएको छ । आइतबार बिहान प्रधानमन्त्री ओली आफ्नो सचिवालयका केही सदस्य र मन्त्रीहरुको साथमा पाँचथर हुँदै त्यसतर्फ जाँदैछन् । हेलिकप्टरमा जाने भएपछि हेलिकप्टर ल्यान्ड गर्न जन्मघर छेउमा हेलिप्याड निर्माण गरिएको हो ।
आठराई गाँउपालिका र नेपाली सेनाको सहयोगमा आफ्नै खर्चबाट प्रधानमन्त्री ओलीले चार लाख रुपैयाँ खर्चेर ७० मिटर लामो र ४५ मिटर चौडाइको आकारमा हेलिप्याड निर्माण गराएको ओलीनिकट स्रोत बताउँछ ।
सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री ओली जन्मघर जाने भएपछि त्यसवरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि १ हजर पाँच सयभन्दा बढीको संख्यामा प्रहरी र सेना खटाइएको छ । यस्तै आठराई गाउँपलिकाको सहयोगमा २ सय स्थानीय स्वयंसेवी पनि कार्यक्रम व्यवस्थापनमा सहभागी छन् ।नया पत्रिका बाट साभार










