सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेको निर्णय नमान्ने भन्दै प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरूलाई फोन गरेपछि नेपालको राजनीतिमा ठूलै उथलपुथलको संकेत देखिएको छ ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधवार ओलीसमेत सहभागी भएको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भनेका थिए, ‘पार्टीका केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यमा सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।’
सचिवालय स्रोतका अनुसार बैठकले वामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गर्दा प्रधानमन्त्री ओलीले असहमति जनाएका थिएनन्, असन्तुष्टिको जनाउ भने दिएका थिए ।
‘उहाँ तपाईंहरूले निर्णय गरेरै आउनुभएको छ, मैले के भनौं भन्ने हिसाबले प्रस्तुत हुनुभएको थियो,’ सचिवालयका एक सदस्यले लोकान्तरसँग भने ।
बैठकमा ईश्वर पोखरेलले ‘यसरी चल्दैन’ भनेर असहमति जनाएपनि निर्णय सर्वसम्मत ढंगले नै भएको स्रोतको दावी छ ।
पार्टी महासचिव विष्णु पौडेलले पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्ने निर्णय सर्वसम्मत् ढंगले नै भएको बताए ।
‘आजको बैठकले संविधान संशोधनका लागि बनेको कार्यदल विघटन गर्ने र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सिटमा वामदेव गौतमको नाम सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय सर्वसम्मत गरेको हो,’ महासचिव पौडेलले भने ।
बैठकबाट बाहिरिएपछि सचिवालय सदस्यहरू निवासमा समेत नपुग्दै प्रधानमन्त्रीले फोन गरेर आफूले निर्णय नमान्ने बताएका हुन् ।
‘मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,’ ओलीले फोन गरेर भनेको सचिवालयका एक सदस्यले बताए ।
प्रधानमन्त्रीले यही व्योहोरासहितको फोन सचिवालयका अन्य केही सदस्यलाई पनि गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको यस्तो चेतावनीपछि पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । बालुवाटारबाट छुटेपछि भेटघाट हुन नपाएपनि सचिवालय सदस्यहरू फोन–फोनमै सम्पर्कमा छन् । लोकान्तर बाट साभार गरिएको










